२ जेष्ठ २०८३, शनिबार 1778961809
समाचार

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला

कास्की । मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३० गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन् । हराएका व्यक्ति काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पछि पहिचान भएको थियो ।

सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायीसहितको टोली खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्युपोइन्टस्थित ठूलो पहाडमुनि खोँचमा शव फेला परेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए । उनका अनुसार हिउँमा केही डाम देखिएपछि सोही आधारमा उद्धार टोली खोज्दै जाँदा भिरबाट धेरै तल कपडा देखेपछि तीन घण्टा लगाएर तल झरेको थियो ।

अध्यक्ष तामाङले कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकिएको बताए । “अप्ठ्यारो भूगोलका कारणले मानिसले बोकेर माथि ल्याउन सकिने अवस्था छैन । हेलिकप्टरबाट उद्धारका लागि प्रशासन, प्रहरी र गाउँपालिकालाई जानकारी गराएका थियौँ । चार घण्टासम्म कुर्दासमेत हेलिकप्टर नआएपछि हामी पुनः हाइक्याम्प फर्किएका छौँ,” तामाङले भने ।

मर्दीको लोक्याम्पमा बास बसेर भोलिपल्ट समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित मर्दीको भ्युपोइन्ट पुगेका उनी ‘टिसप’मा आफ्नो झोला राखेर ‘केही बेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दै’ निस्किएका थिए । भिक्षु साँझसम्म नफर्किएपछि भोलिपल्ट स्थानीयले खोजी गरेका थिए । दुई दिनसम्म खोजी गर्दा पनि हराएका व्यक्ति फेला परेका थिएनन् । शनिबार सुरक्षाकर्मी पुगेपछि स्थानीयसहितले पुनः खोजी अघि बढाएका थिए ।