काठमाडौं । कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीस सिफारिसविरूद्वका रिट लगायत दरपीठ गरिएको विरूद्व दायर निवेदन दर्ता गर्न आदेश दिएकी छिन् ।
मल्लले निवेदन र दरपीठ आदेशउपरका निवेदन अनिवार्य रूपमा दर्ता गरी भोलि पेशी चढाउन आदेश दिएकी हुन् । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाल र अधिवक्ता गीता थापाले दिएका निवेदन तथा दरपीठविरुद्धको सुनुवाइमा उनले कानुन बमोजिम दर्तामा आएका रिट निवेदन दर्ता गर्न भनेकी हुन् ।
चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि कानुन व्यवसायीले गुनासो गरेका थिए ।
मल्लले कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटोको अवरोध र अदालतको जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास भएको दावी गरिन् ।


