६ आश्विन २०८१, आइतबार 1727015357
Banner

एक व्यक्ति प्रसारण लाइनमै ओहोरदोहोर गरिरहेकाले विद्युत् सेवा सञ्चालन ठप्प

नुवाकोट — जिल्लाको ककनी गाउँपालिका ७ स्थित प्रसारण लाइनमा एक व्यक्ति चढेपछि विद्युत् सेवा अवरुद्ध भएको छ । बेलकोटगढी नगरपालिका १३ का प्रेम बिक शनिबार बिहान ११ बजेतिर त्रिशूल ३ ए को प्रसारण लाइनमा उक्लिएपछि विद्युत् प्राधिकरणले उत्पादन नै बन्द गराएको हो ।


ती व्यक्ति मानसिक सन्तुलन ठीक नभएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार अहिले पनि बिक प्रसारण लाइनमै ओहोरदोहोर गरिरहेकाले विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । प्रहरी र स्थानीयवासीले उनलाई ओराल्न प्रयास गरिरहेको अध्यक्ष तामाङले बताए ।

तामाङले भने, आज बिहान ११ बजेतिर चारखुट्टे खम्बाबाट युवा उक्लिँदै गरेको देखेपछि विद्युत् प्राधिकरणलाई खबर गरेकोले दुर्घटना हुन पाएन । तर जोखिम अहिले पनि छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले बिकका परिवारलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।