काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको भारतको ‘कक्रोज जनता पार्टी’का संस्थापक अध्यक्ष अभिजीत दीपकले भारतीय जेनजी पुस्तालाई नेपाल र बंगलादेशका युवासँग तुलना गर्नु उचित नभएको बताएका छन् ।
एक पोडकास्टका क्रममा उनले भारतमा देखिएको जेनजी आन्दोलनलाई नेपाल वा बंगलादेशको जेनजी आन्दोलनसँग दाँजेर हेर्नु भारतीय युवाप्रति अपमानजनक हुने टिप्पणी गरेका हुन् ।
दीपकले भने, ‘धेरै पत्रकारहरूले मलाई सोधिरहेका छन्– के यो जेनजी आन्दोलनले नेपाल वा बंगलादेशजस्तै रूप लिन्छ ? म यो कुरा स्पष्ट गर्न चाहन्छु कि यस्तो तुलना गरेर भारतको जेनजी पुस्तालाई अपमानित गर्नु हो वा कम आँकलन गर्नु उचित हुँदैन ।’
दीपकले भारतीय युवा पुस्ताको सोच, चेतना र आन्दोलनको स्वरूप फरक रहेको दाबी गर्दै त्यसलाई नेपाल–बंगलादेशसँग तुलना नगर्न आग्रह गरे ।
यस्तै, उनले भारतका सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तलाई विशेष धन्यवाद समेत दिएका छन् । युवाप्रति गरिएको टिप्पणीका कारण नै कक्रोज जनता पार्टीको जन्म भएको उनको भनाइ थियो ।
दीपकले भने, ‘यदि प्रधानन्यायाधीश सूर्य कान्तले युवाहरूप्रति टिप्पणी नगरेको भए सायद कक्रोज पार्टीको जन्म नै हुने थिएन । उहाँलाई विशेष धन्यवाद ।’



