काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेठ १८ गते ‘जेनजी छानबिन प्रतिवेदन’ सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेको जेनजी अभियान्ताले जानकारी दिएका छन् ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘जेठ १८ गते सार्वजनिक गर्न नसकिए आयोग पदाधिकारीहरु स्वयमले सामूहिक राजीनामा दिने’ भनेर विश्वस्त पारेको जेनजीले खुलासा समेत गरेका छन् ।
राष्ट्रिय जेनजी–नागरिक अभियानका संयोजक सुनिल सिंहले जेनजी आन्दोलन भएको करिब ९ महिना पुग्दा समेत मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक नगर्नु गम्भीर आशंकाको विषय भएको बताए । उनले भाद्र २३, २४, २५ र २६ गते भएका घटनाको सत्यतथ्य बाहिर ल्याउन तथा देशमा नागरिकको मानव अधिकार प्रत्याभूत गर्न सशक्त खबरदारी निरन्तर रहने र राज्यका सम्पूर्ण निकाय पनि जिम्मेवार बन्न आग्रह गरे ।
सिंहले शुक्रबार आयोग प्रमुख तपबहादुर मगरलाई उनकै कार्यकक्षमा गएर प्रतिवेदन सार्वजनिक गर्न माग गर्दा उनी गैरजिम्मेवार बनेको जानकारी दिँदै भने, ‘वार्ताका क्रममा प्रमुख आयुक्तज्यूले ‘मेरो कुर्सीमा तपाईं बस्नुस्, म अर्को ढोकाबाट निस्कन्छु’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति सुहाउँछ ?’
सहसंयोजक अजय सोडारीले १८ गतेसम्म प्रतिवेदन सार्वजनिक नभए आफूहरुले जनस्तरबाट विद्रोह गर्ने चेतावनी दिएका छन् । आयोगमा पुगेर आफूहरुले जेनजी आन्दोलनका क्रममा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका बारेमा तत्काल छानविन प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएको सोडारीले जानकारी दिए ।
सोडरीका अनुसार आयोगकी आयुक्त डा. लिलि थापाले एक हप्ताभित्र आयोगले प्रतिवेदन सार्वजनिक नगरे आफू स्वयमले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रतिवद्धता जाहेर गरको जनाए । जाँचबुझ आयोगकी प्रमुख समेत रहेकी डा. थापासहित प्रमुख आयुक्त तपबहादुर मगर र अर्का आयुक्त मिहिर ठाकुरसँग भएको छलफलमा हामीले ‘कि प्रतिवेदन सार्वजनिक गर्नुस, होइन भने हात उठाएर जिम्मेवारीबाट राजीनामा दिनुस’ भनेर दबाब दिएको सोडारीले बताए ।
जवाफमा आयोगका पदाधिकारीहरूले ‘१८ गते गतेभित्र प्रतिवेदन सार्वजनिक गरेर सरकारलाई सिफारिस गर्छौं, नसके राजीनामा दिन्छौँ,’ भन्ने प्रतिबद्धता व्यक्त गरेको सोडारीले जनाए ।
अभियानका प्रवक्ता विर्जन विश्वकर्माले जेनजीको बलबाट आएको सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको छानबिन समितिको प्रतिवेदन अनुसार न्याय दिन नसकिरहेको बेला मानवअधिकार आयोगले प्रतिवेदन सार्वजनिक नगर्नु दुःखत विषय भएको बताए । अभियानका सचिव प्रकाश बमले मानव अधिकार आयोग जनताको अधिकारका लागि जिम्मेवार बन्नुपर्नेमा उ पनि कसैको दबाबमा पर्नु दुःखत विषय भएको बताए ।
‘एकातिर कार्की आयोगको प्रतिवेदन सार्वजनिक त भयो तर कार्यान्वयन भएन, अर्कोतर्फ मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु कतै ठूलो खेल त छैन,’ बमले प्रश्न गरे ।
जेनजी सुशील बुढाथोकीले आफूहरुले ल्याएको परिवर्तनको रक्षा र विकासको जिम्मा पनि जेनजीहरुकै रहेको बताउँदै भने, ‘सरकार होस् या संसद, न्यायायालय होस् चाहे सरकारी निकाय सबैतिर खबरदारी गर्नु हाम्रो अधिकार हो ।’
‘हामीहरुले गलतविरुद्ध आवज उठाउँदैगर्दा विभिन्न किसिमका नकारात्मक धारणा तथा गलिगलौज गर्नुको कुनै औचित्य छैन,’ बुढाथोकीले थपे ।
जेनजी अभियान्ता सुप्रिया नेपालीले आयोगले तत्काल छानबिन प्रतिवेदन सार्वनजिक नगरे आफूहरुले कडा आन्दोलन गर्ने चेतावनी दिइन् । अर्का जेनजी जनम सिंहले लामो समय जेनजीको दबाबपछि गौरीबहादुर कार्की आयोगले प्रतिवेदन सार्वजनिक गरे पनि त्यसको कार्यान्वयन नभएकोप्रति आक्रोश व्यक्त गरे । जेनजी राज कठायतले मानव अधिकार आयोगले दिएको समय जेठ १८ गते प्रतिवेदन सार्वजनिक नगरे आफूहरुले कडा आन्दोलन गर्ने चेतावनी दिए ।


