५ आश्विन २०८१, शनिबार 1726907976
पालिका

लेखनाथदेखि पोखरासम्मको बिजुली लाइन भूमिगत गरिने

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

कास्की- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो चरणमा लेखनाथ सवस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन भूमिगत गर्ने कार्य प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा कार्यकारी निर्देशक घिसिङले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । पोखराको बिरौटामा अत्याधुनिक सवस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उहाँले प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

अन्तका सवस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपार्ने जानकारी गराउँदै उहाँले यो सवस्टेसन बनेपछि पोखरामा झ्यापझ्याप बिजुली जाने क्रम रोकिने बताउनुभयो ।

मोदीखोलामा रहेका परियोजनाहरूबाट उत्पादित बिजुलीका लागि लाहाचोकमा सवस्टेसन बनिसकेको र त्यसको कनेक्सन लेखनाथमा भइसकेको छ । दाना, कुश्मा, बुटवल प्रशारण लाइनअन्तर्गत दानादेखि कुश्मासम्मको काम सम्पन्न भइसकेको र ग्रामीण भेगमा विद्युतीकरणका लागि सामान खरिद प्रक्रियामा केही समस्या आएको र त्यो समस्या छिट्टै सल्टाइने उहाँको भनाइ छ ।

निर्देशक घिसिङले सरकारी कार्यालयमा विद्युतीय गाडी प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । प्राधिकरण पोखराको लेकसाइड, टुरिस्ट बसपार्कसहित तीन ठाउँमा स्मार्ट चार्जिङ स्टेसन बनाउन लागेको उल्लेख गर्दै उहाँले स्वदेशको विद्युत् खपत बढाउन, इन्धन आयात कम गर्न र सस्तोमा गाडी चढ्ने अवस्थाका लागि विद्युतीय गाडी प्रयोगमा जोड दिनुभयो ।