७ मंसिर २०८१, शुक्रबार 1732304076
Banner

ट्राफिक जामले आक्रान्त बनेको जनजीवन

]हिजोआज हाम्रो समाचार माध्यमहरुमा बिहानको सुरुवात सवारी दुर्घटनाको समाचारबाट हुन्छ र त्यस दिनको अन्त्य पनि सडक दुर्घटना कै समाचारबाट हुने गरेको छ । यसरी पीडित र तिनका परिवार त दुर्घटनाले मर्माहत हुने भए नै अरु नागरिक पनि सवारी दुर्घटनाले यसरी आक्रान्त बनेका छन् । अघिल्लो दिन भएको सवारी दुर्घटनाको समाचार सेलाउन पाउदा नपाउँदै त्यसै स्थानमा लगतै उस्तै प्रकृतिको दुर्घटना हुनु भनेको भवितव्यले मात्र हुने दुर्घटना मान्न सकिदैन । हामी जसलाई दुर्घटना भन्ने गरेका छौ त्यो साच्चै दुर्घटना वा भवितव्य हो कि चरम लापवाहिको परिणाम हो भन्ने कुरा अहिलेसम्म पत्ता लगाउने कुनै जाँचवुझ निकायले निश्कर्ष निकालेको छैन । यो नै सवारीको कथित दुर्घटना भनिने लापरवाहीको पराकाष्ठा हो भन्दा अन्यथा हुदैन नै ।

यस्तो लापरवाही जन्य क्रियाकलापबाट श्रृजित भएको सवारी दुर्घटनाका साथै विशेष त काठमाडौँ उपत्यकामा दिनहुँ सर्वसाधारणले खेप्नु परेको सडक जामका कारकहरुको गहन अध्ययन हुनु जरुरी छ । हचुवामा गरिएको सर्वेक्षण, आ–आफ्ना कमी कमजोरी लुकाउन प्रस्तुत हुने तथ्याङ्क नामक मिथ्याङ्कहरुले वास्तविक सडक जाम र सवारी दुर्घटनाले आक्रान्त बनेको सडकको अवस्थाबारे सुधार हुनसक्दैन ।
सवारी दुर्घटना हुनुमा चालकको लापरवाही एउटा प्रमुख कारकतत्व बन्न सक्दछ । तर त्यो मात्र सम्पूर्ण कारक भने होइन । सडक मापदण्ड चालकले बनाएका होइनन् । चालक निपूर्णताको लाइसेन्सको मापदण्ड तिनले निर्धारण गर्ने होइनन् । सबैभन्दा महत्वपूर्ण कुरा सडकमा सवारीको धान्न नसक्ने चाप तिनले बढाएका होइनन । त्यसैले सडक दुर्घटनाको सम्पूर्ण दायित्व चालकको लापरवाही भनेर नियमक निकायहरु पानी माथीको ओभानो बन्न मिल्दैन ।

वि.स १९५८ मा बोकाएर ल्याएको एउटा कारबाट सवारी साधनको युग सुरु भएको नेपालमा अहिले ४० लाख भन्दा वढी सवारी साधन दर्ता भएका तथ्याङ्क पाइन्छ । एकाघ दशक अगाडीसम्म एउटा मोटर साइकल सवारी साधन हुने मानिस पनि समाजमा हुनेखाने र हैसियत भएको ठानिने गर्दथ्यो भने कार र जीप चढ्नेहरु त सम्भ्रान्त वर्गकाहरु नै हुने गर्थे । अहिले नेपालमा ३÷४ करोड रुपैँया पर्ने प्राडो, पजेरो चढनेहरुको संख्या पनि धेरै बढेको छ । २० लाखदेखि ८० लाखसम्मको गाडी चढनेहरु लाखौँलाख छन् ।

तर यो मुलुक आर्थिक रुपमा सम्पन्न भएको सूचक भने होइन । अर्थशास्त्रले साधन प्रयोगको आवश्यकता तीन प्रकारले विभाजन गरेको छ । जस्मा विलासिताका रुपमा गरिने प्रयोग, सहजताका निम्ति गरिने प्रयोग र नितान्त आवश्यक्ताका लागि गरिने प्रयोगका भिन्नता अथ्र्याईएको पाइन्छ । काठमाडौँ उपत्यकामा सवारी साधनको प्रयोगलाई विश्लेषण गर्दा एउटा अस्पतालमा विरामी जाँच गरेर अर्को अस्पतालमा समयमा पुग्नुपर्ने र त्यसपछि पनि तेश्रोमा धाउनुपर्ने डाक्टर वा स्वास्थ्य कर्मीका लागि सवारी साधन नितान्त आवश्यकताको वस्तु हो भने घरबाट कार्यालय वा व्यवसायीक प्रतिष्ठान सम्म ओहोर र दोहोर गर्नका लागि सवारी साधन सहजताका लागि आवश्यक वस्तु हुनसक्दछ । तर कुनै काम नभएका, लहलह फल्ने धानको खेत बेचेर लहैलहैमा कार चढ्ने भनेका विलासिताको प्रयोग हो । यस्तो गर्नेहरुको संख्या हामी कहाँ धेरै छ । यस्ले प्रदुषण बढाउने काम पनि नराम्रोसंग गरेको छ ।

त्यसमध्ये सबैभन्दा बढी सवारी साधनको घुइँचो उपत्यकामा थुर्पिएका छन् । दिनमा एकाघ घण्टा बाहेक सधै सवारी साधन जामले चोकहरु टनाटन रहन्छन् । काठमाडौँका ग्रामीण भेगमा जग्गाको भाउ बढे संगै एउटा परिवारमा दुई ÷तीनवटा कार र दुईपाङ्गे सवारी साधन राख्ने होडबाजी चलेको छ ।

सवारी साधनले सडक टन्न भरिएका हुन्छन् । अझ नअटाएर भूmसी ÷ भूmसी भए जस्तो । कुनै प्राविधिक पक्षको उपयुक्त अध्ययन र मूल्याङ्कन नगरि खनिएको ग्रामिण सडकलाई समावेस नगर्ने हो भने हामीसंग झण्डै ६० हजार किलो मिटर भन्दा धेरै सवारी साधन गुडने योग्य सडकहरु छैनन । त्यही सडकमा ४० लाख भन्दा बढी सवारी साधनले ओहोर दोहोर गर्ने छन् । त्यस माथि पनि पोखरा, वीरगंज, भरतपुर, विराटनगर, नेपालगञ्ज लगायतलाई छोडने हो भने काठमाडौँ उपत्यकामा मात्र १० लाख सवारी साधन प्रतिदिन गुडने गरेका छन् । ति सवारी साधनमध्ये सर्वसाधारणले उपयोग गर्ने भाडाका बस, कार संख्या न्यून छ । ९० प्रतिशत भन्दा बढी संख्यमा रहेका निजी सवारी साधन उपत्यकाको दुई सय चौँध किलो मिटर सडकमा दैनिक गुडने गर्दछन् ।

ट्राफिक जामले काठमाडौँका जनता आक्रान्त बनेका छन् । काठमाडौँ उपत्यका छिर्ने पश्चिमको नाका थानकोटबाट ट्राफिक जामको दुर्दशा सुरु हुन्छ । कहिले त नौबिसेको उकालोमा ८÷१० घण्टा जाममा परेर सबै काम चौपट भएर निराश बन्नु परेको गुनासो पनि सुन्नुपर्छ । मूलत काठमाडौँ उपत्यकाको मूल चौवाटाहरु कलंकी, नारायण गोपाल चोक, थापाथली, कोटेश्वर, गौशाला, चावहिल, जडिवुटी र भक्तपूरको जगाती तथा ललितपुरको नख्खु चोक, सातदोबाटो र ग्वार्कोमा हुने ट्राफिक जामको दुर्दशा भोग्नेहरु धेरै निराश छन् । ट्राफिक जामले यस्तो दुर्दशाका कारण सवारी दुर्घटना पनि बढाएको छ । नेपालमा सवारी दुर्घटनाले प्रतिदिन औसत ७ जनाले ज्यान गुमाउनु परेको छ भने अपाङ्ग भएर कष्टकर जीवन बिताउनेको संख्या धेरै रहेको छ ।

यसै कुरालाई मध्य नजर राखेर होला सरकारले हालै दुर्घटना ग्रस्तक्षेत्र अध्ययन गरी दुर्घटनाको कारक तत्व पत्ता लगाउने जर्मको गरेको हुनुपर्दछ । दुर्घटनाको कारण विविद्य हुन सक्दछन । चालकको लापरवाही नै प्रमुख कारण हो भन्ने आधिकारीहरुको भनाई गलत नभए पनि सतप्रतिशत सत्य भने होइन । सवारी चालक अनुमती प्रदान गर्ने सवारीको प्राविधिक जाचँ, क्षमता भन्दा बढी यात्रु र मालसामान ढुवानी रोक्ने काममा भएको लापरवाही वा आनियामिततामा चालकलाई दोष दिन मिल्दैन । यो त भयो सवारी दुर्घटनाबाट हुने क्षतिको कुरा । तर काठमाडौँ उपत्यका भने सवारी दुर्घटना भन्दा पनि ट्राफिक जामले बढी आक्रान्त बनेको अवस्था छ ।

ट्राफिक जाम न्यूनिकरण गर्ने उपायहरुको बेलैमा विकल्प खोज्नुपर्ने अवस्था छ । यो न्यूनिकरण गर्न प्रत्येक चौवाटाहरुमा आकाशे पुल बनाउने सबैभन्दा राम्रो विकल्प हुनसक्दछ । तर हाम्रो अहिलेको विकासका प्राथमिकता र आर्थिक अवस्थाले यो हालमा धेरै सम्भव छैन् । ट्राफिक जाम न्यूनिकरण गर्न अन्य मूलुकका केही ठूला शहरहरुमा जोर, विजोर सवारी साधन संचालन गर्ने व्यवस्था गरियो तर त्यसले झन १ व्यक्तिले जोर र विजोर गरि दुई ÷ दुईवटा सवारी साधन राख्ने गर्दा त्यसबाट समस्याको समाधान भएन । अझ समस्या बढ्यो । हामीले ट्राफिक जामको यस दुर्दशालाई न्यूनिकरण गर्न विद्यालय, सरकारी कार्यालय र निजी व्यवसाय संचालन गर्ने फरक ÷ फरक समय तालिका बनाएमा केही राहत दिन सक्दछ । त्यसैगरि सरकारी कार्यालयमा सप्ताहमा काम गर्ने समय घण्टा नघटाइकन शनिबार र आईतबार दुई दिन कार्यालय बिदा दिने व्यवस्था गरेमा कमसेकम हप्तामा दुई दिन ट्राफिक जामबाट केही राहत पाउन सकिन्छ । यसबाट बर्षमा अरवौ रुपैँयाका पेट्रोलियम पर्दाथ आयात पनि घटाउन सकिन्छ ।

त्यसैगरि मालवाहक सवारी साधनलाई रात्री ११ बजेबाट ४ बजेसम्म मात्र मालसामान र निर्माण सामाग्री ढुवानीको व्यवस्था गरि अन्य समयमा उपत्यका भित्रका सडकमा गुड्न रोक्ने हो भने पनि केही हदसम्म ट्राफिक जाम र दुर्घटना न्यूनिकरणमा सहयोग पुग्न सक्दछ । त्यसका लागि खानीखोला र नौविसे वरपर एउटा ठूलो पाकिङ्ग स्थल निर्माण गर्न आवश्यक छ । अर्को एउटा उपाय भनेको बढी भन्दा बढी सडकहरु एकतर्फी बनाउनु पनि हुनसक्दछन । सागुँरा सडकमा दुई तर्फी सवारी गुडनाले पनि ट्राफिक जाम बढाएको छ । ट्राफिक जामको यस्तो दुर्दशा भएको अवस्थामा हामी भने यसको वास्तविकता र तथ्यलाई नबुझि एकले अर्कोलाई लाञ्छना लगाउने, आक्रोश पोख्ने र सराफ्ने काम मात्र गरिरहेका छौ । यसमा सामाजिक सञ्जालहरुमा गरिने अपव्यख्या र अनर्गल प्रचारले समस्या समाधान भन्दा अनाव्यश्यक विवाद मात्र निम्त्याएको छ ।

ट्राफिक जाम न्यूनिकरण गर्ने काममा एउटा गहन र भरपर्दो अध्ययन र अनुसन्धान तुरुन्त आवश्यक छ । यसमा सम्बन्धित निकायले अब ढिलाई गर्न हुदैन । ट्राफिक जाम न्यूनिकरण र सवारी दुर्घटना न्यूनिकरणबारे दुइटा छुट्टाछुट्टै अध्ययन टोली बनाएर अध्ययन, अनुसन्धान गर्नु राम्रो हुन्छ । किनकि उपत्यकाको ट्राफिक जामको विकराल रुप र राजमार्ग एव पहाडी घुलौटे मार्गमा हुने सवारी दुर्घटनाका कारणहरु फरक छन् । त्यसको लागि एउटै अध्ययन दलले अध्ययन गर्न सम्भव छैन । राजमार्गहरुमा आधिकांश रुपमा हुने सडक दुर्घटनाहरुका कारण बेग्लै छन् भने पहाडी धुले सडकहरुमा हुने दुर्घटना कारक तत्व फरक छन् । जहाँसम्म उपत्यकाको ट्राफिक जामको कहर छ त्यो तुरुन्तै अध्ययन, अनुसन्धान गर्न आवश्यक छ । यो अब असह्य भईसकेको छ । यस्तो अवस्थामा जामको वास्तविक कारण र त्यसको प्रकृति अध्ययन नगर्ने अनि एकअर्कालाई दोषारोपण दिएर पन्छिने गरेको छौ । यसले समस्या समाधान नगर्ने मात्र होइन समस्याको पहिचान सम्म गर्न सकिदैन ।

त्यसकारण दोष लगाउने र आक्रोश पोख्ने काम बन्द गरेर समस्याको पहिचान गर्ने काममा लाग्नु राम्रो हुन्छ । चिनीयाहरुको धेरै पुरानो र प्रसिद्ध एउटा भनाई यहाँ स्मरण योग्य छ । त्यो के भने “ अध्यारोले दुख दियो, अध्यारो भएका कारण आँखा नदेखिएर घुडा ठोक्कियो, लडियो भन्दै अध्यारोलाई सराप्दै बस्नाले अध्यारो हटदैन । अध्यारोलाई सराप्नु र त्यसले दिएको दुखको विलाप गरेर बस्नुभन्दा चुपचाप एउटा सलाई कोरेर मैनबत्ती बाल्नुले अध्यारोबाट छुटकारा पाइन्छ” भन्ने हो । यो भनाई काठमाडौँ उपत्यकाको ट्राफिक जामको हकमा पनि एकले अर्कालाई दोषारोपण गरि समय बिताउनु भन्दा उपयुक्त अध्ययन सुरु गरि कार्ययोजना बनाउनु नै बुद्धिमानी हुनेछ ।