पछिल्ला केही घटनाले नेपाललाई पश्चिमी शक्तिले खेल मैदान बनाउन ठूलै कसरत गरेको प्रष्ट पारेको छ । गिजोल्नु गिजोलेर एमसीसी संसदबाट नाटकीय ढंगले पास सत्ता गठवन्धनले गराएपछि नेपालमा अमेरिकी सक्रियता ह्वात्तै बढेको छ । नेपाली कांग्रेसमा अमेरिकी लवी भनेर पहिलेदेखि नै परिचित शेरबहादुर देउबाको नेतृत्वमा राष्ट्रवादी सरकार ढाल्न प्रमुख भूमिका खेलेका प्रचण्ड अमेरिकी मन्त्रीले तिब्बती शरणार्थी शिविरमा अनधिकृत तवरले भ्रमण गर्दा होस् वा अमेरिकी सेनाको विशेष पहलमा देउबाको आसन्र अमेरिकी भ्रमणको सवालमा होस् बाहिर चुइक्क नबोलेका प्रचण्डको भूमिकाबारे विभिन्न अड्कल गरिंदैछ । उनले अमेरिकी साम्राज्यवादको विरोधमा चर्का भाषण गरे पनि यस्तो संगीन अवस्थामा उनको संदेहात्मक भूमिका आश्चर्यजनक छ ।
राजनीतिक नेतृत्वलाई समेत गुमराहमा राखेर नेपाली सेनाले अमेरिकाको एसपीपीसंग गरेको पत्राचार अहिले छताछुल्ल हुँदासमेत सत्ता गठबंधनको अघोर मायाको कारण प्रचण्ड र माधव नेपाल देउबाकै दौराको फेरमा झुण्डिन छोडेका छैनन् ।
आज प्रमुख प्रतिपक्ष नेकपा (एमाले) र जनताको व्यापक खबरदारी, विरोध हुँदा पनि एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउबा टसको मस भएका छैनन् । यो पैमानामा एसपीपीको विरोध हुँदा पनि यसको च्याप्टर क्लोज गर्न सत्ता गठबन्धनले कुनै तयारी गरेको देखिंदैन ।
विदेशी शक्तिको चलखेलको प्रतिरोध गर्नुको सट्टा त्यही चलखेलमा सामेल हुने नेपाली कांग्रेससंग नेपाली जनता अनभिज्ञ छैनन् । तर आफूलाई राष्टियताको पहरेदार बताउँदै आएका, अमेरिकी साम्राज्यवादको चर्को विरोध गर्दै आएका प्रचण्ड र माघव नेपाल साना वाम शक्तिको वर्तमान लरवराहटको अर्थ चाहिं बुझ्न कठिन भएको छ ।
सबैलाई थाहा छ, अमेरिका नेपाललाई चीनविरोधी गतिविधिको एक केन्द्र बनाउन चाहन्छ । आफ्नो विवाहसमेत अमेरिकी सहयोगमा भएको भनिएका प्रधानमन्त्री देउबाकै समयमा यस प्रकारको चलखेल बढी हुने गरेको छ । एमसीसी पास भएदेखि यस्ता गतिविधिमा बढात्तरी भएको छ ।
विगतमा अवान्छित विदेशी दवावको वामहरूले एउटै कित्तामा उभिएर गर्दै आएका थिए । असंलग्न परराष्ट्र नीतिको शुरूदेखि नै पक्षपोषण गर्दै आएको नेपाल कसैको सैन्य रणनीतिको बन्न नसक्ने विषयमा नेपालका सबै वामपंथी शक्तिको समान धारणा रहँदै आएकोमा यसपालि सत्ता स्वार्थको कारण प्रचण्ड र माधव नेपालको पोजिशन प्रष्ट हुन सकेन ।
विडम्बना के छ भने आज उनीहरु देशको स्वाधीनता र सार्वभौमिकताभन्दा सत्ता र गठबन्धनलाई प्राथमिकता दिइरहेका छन् ।
एमालेजस्तो राष्ट्रवादी कम्युनिस्ट शक्तिलाई घेराबन्दी गरेर कमजोर पार्ने एकमात्र ध्याउन्नमा लागेका छन् । नेपाली कांग्रेसलाई बलियो बनाएर विदेशी चलखेललाई झन मज़बूत र संस्थागत गराउन उद्दत छन् । उनीहरूलाई देशभन्दा आगामी निर्वाचनमा आफ्नो र आफ्ना केही आसेपासेको सीट कसरी सुरक्षित गर्ने भन्ने चिन्ता बढी छ ।
प्रचण्डको दक्षिणपन्थी दौड कहाँ पुगेर रोकिने हो ठेगान छैन । माघव नेपालको नेपालका कम्युनिष्ट शक्तिलाई ‘धुलो चटाउने’ अभियान कहाँ सम्म पुग्ने हो यकिन छैन । वामहरूको यस्तो दुरह कायम रहेसम्म एमसीसी, एसपीपीजस्ता लफडा आइरहन्छन् ।