२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 6:13 pm
Banner

राष्ट्रिय भेलामा स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल

सूचना प्रेस २०८३ कार्तिक २७ शुक्रबार ००:००, १६:१२ बजे २ मिनेट पढाइ

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको बताएका छन्।

शुक्रबार आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाको तयारीलाई अन्तिम रूप दिन एमाले केन्द्रीय कार्यालय, च्यासलमा तयारी समितिको बैठक बसेको हो।। बैठकमा बोल्दै महासचिव पोखरेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्न भेलाले सन्देश दिने बताए।

एमालेका सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिको अवस्था, व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे विस्तृत समीक्षा गरिएको थियो।

सङ्गठन विभागका प्रमुख ढकालले भेलालाई सफल बनाउन विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरी समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिए। भेलामा देशभरबाट एमालेका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित तीन हजार ४१४ जनाको सहभागिता रहने जनाइएको छ।

ढकालका अनुसार भेलामा ३४६ केन्द्रीय सदस्य, ८१ केन्द्रीय निकायका प्रतिनिधि, ५५ प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जिल्ला तहका प्रतिनिधि र एक हजार ५०६ पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन्।

त्यसैगरी सङ्घीय संसद तथा राष्ट्रिय सभाका ३५, प्रदेश सभाका १५५, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १०६, उपप्रमुख तथा उपाध्यक्ष ३४२ र जनसङ्गठनका नौ प्रतिनिधिको सहभागिता हुने जनाइएको छ।

बैठकमा एमालेका सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेता सहभागी रहेका थिए। काठमाडौँमा हुने राष्ट्रिय भेलालाई एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारीसहित नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।