२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 7:27 am
Banner

कुलेखानी–हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ

सूचना प्रेस २०८३ कार्तिक २८ शनिबार ००:००, ०६:२६ बजे १ मिनेट पढाइ

काठमाडौँ – काठमाडौँ–फर्पिङ,कुलेखानी,हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन यात्रुवाहक सवारी सञ्चालनमा समयसीमा लागू गरेको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज पौडेलका अनुसार काठमाडौँबाट बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने सार्वजनिक यात्रुवाहक सवारी साधन बेलुका ८ बजेसम्म फर्पिङस्थित प्रहरी चेकपोस्ट कटिसक्नुपर्नेछ। त्यस्तै, उक्त रुटमा चल्ने भाडाका तथा सार्वजनिक सवारी साधन बिहान ५ बजेपछि मात्र बल्खुबाट छुट्न पाउने व्यवस्था गरिएको छ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले यात्रुवाहक सवारीको प्राविधिक अवस्था पूर्ण रूपमा जाँच गरेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको हो। प्रशासनद्वारा जारी सूचनाअनुसार काठमाडौँ जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी एकाइले प्रत्येक भाडाका तथा यात्रुवाहक सवारीको अनिवार्य र कडाइका साथ जाँच गर्नेछन्।

बिहीबार बिहान काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा दुर्घटना हुँदा एकै परिवारका ६ सहित १४ जनाको मृत्यु र ६ जना घाइते भएपछि प्रशासनले सुरक्षा सतर्कता बढाएको हो।