काठमाडौँ : नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा बाराका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सुवर्ण गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्र प्रसाद यादवविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा उनले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह (आईए) को झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी अभिलेखमा राखेको पुष्टि भएको आयोगले जनाएको छ ।
उक्त नक्कली प्रमाणपत्रका आधारमा यादव प्राथमिक तहको शिक्षक पदमा कार्यरत रही राष्ट्रसेवकका रूपमा पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आयोगको ठहर छ ।
आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार कैद र जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको जनाएको छ ।


