नेपाल विद्युत् प्राधिकरणले २८ दिनमा एक अर्ब ७२ करोड रुपियाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले विद्युत् खरिद बिक्री गर्ने भारतको खुला बजार इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)मा नेपालमा बचत भएको बिजुली बेचेर उक्त आय गरेको हो । यो अवधिमा प्रतियुनिट औसत नौ रुपियाँ ६७ पैसामा बिक्री गरेर प्राधिकरणले खुद आम्दानी गरेको हो । यो आम्दानीमा कमिसन, कर तथा ह्विलिङ चार्ज कटाइएको प्राधिकरणले जनाएको छ ।
यो अवधिमा प्रधिकरणले कुल १७ करोड ८१ लाख ९१ हजार युनिट बिजुली निर्यात गरेको हो । यो अवधिमा प्रतियुनिट मूल्य सबैभन्दा बढी असार १ गते १५ रुपियाँ ९३ पैसा र सबैभन्दा कम असार ७ गते चार रुपियाँ ५२ पैसा थियो । समग्रमा जुन महिनाभरको बिक्रीमा प्रतियुनिट औसत नौ रुपियाँ ६७ पैसा प्राधिकरणले पाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यो परिणामले मुलुकको समग्र व्यापार घाटालाई समेत कम गर्न बिजुली निर्यातले महŒवपूर्ण सहयोग पुग्ने भएको छ । “विदेशी मुद्रा सञ्चितिको चाप परिरहेका बेला बढी भएको बिजुली बेचेरै आकर्षक परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकेका छाँै । आगामी आर्थिक वर्षमा करिब २० अर्बको विद्युत् निर्यात हुने हाम्रो प्रक्षेपण छ,” उहाँले भन्नुभयो । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालबाट चालू आर्थिक वर्षको ११ महिनामा एक खर्ब ८५ अर्ब रुपियाँको वस्तु निर्यात भएको छ । यसमध्ये ४५ प्रतिशत हिस्सा त आयातित सोयाबिन र पाम आयलकै छ । भन्सारको यो तथ्याङ्कमा बिजुली निर्यात समावेश हुँदैन ।
प्राधिकरणले भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत्् प्राधिकरणबाट नेपालका छवटा जलविद्युत् आयोजनाको बिजुलीलाई स्रोत मानी आईईएक्समा बेच्न स्वीकृति पाएको थियो । भारतमा बेच्नका लागि प्राधिकरणले करिब आठ सय मेगावाटका लागि प्रस्ताव गरेकामा हालसम्म ३६४ मेगावाटको मात्र स्वीकृति पाएको छ । अरूको प्रक्रिया जारी रहेको प्राधिकरणले जनाएको छ । आईईएक्समा २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत् कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरकफरक हुने गरेको छ ।
गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत् प्राधिकरणले थप चार जलविद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।