काठमाडौ । नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेश सरकारको नेतृत्व छाड्नुपरे अर्को प्रदेशमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने निष्कर्ष निकालेको छ ।
शनिबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले आफ्नो पार्टीले अहिलेझैँ कम्तीमा दुई प्रदेशको नेतृत्व पाउनुपर्ने निष्कर्ष निकालेको हो ।
बागमतीका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सरकारको आधा–आधा कार्यकाल नेतृत्व गर्नेगरी नेपाली कांग्रेससँग गत कात्तिक पहिलो हप्ता सरकारमा जानुअघि सहमति गरेका थिए । कांग्रेसले सहमति कार्यान्वयनका निम्ति निरन्तर दबाब सिर्जना गरिरहेको छ । कांग्रेसको साथमा नेकपा माओवादी केन्द्रपनि छ ।
बागमतीमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न गठबन्धनभित्र पाण्डेमाथि चर्को दबाब परिरहेको छ । पाण्डेले सहमतिअनुसार सरकार परिवर्तनका लागि मार्गप्रशस्त गर्नुपर्ने भन्दै कांग्रेस र माओवादीका सांसदहरुले हस्ताक्षर संकलन गरिसकेका छन् ।