५ मंसिर २०८१, बुधबार 1732123422
खेलकुद

जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद्ले असार २३ र २४ गते पोखरामा आयोजना गरेको प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

व्यास नगरपालिका–१ हाइस्कुलटारस्थित निर्मल माध्यमिक विद्यालयमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले खेलकुदले नेपालको नाम अन्तर्राष्ट्रियस्तरसम्म चिनिन सफल भएको बताउनुभयो । जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भई प्रदेश हुँदै राष्ट्रियस्तरसम्मको खेलमा सहभागी हुनका लागि सिग्देलले खेलाडीलाई शुभकामना दिनुभयो । प्रतियोगिता उद्घाटन समारोहमा नेकपा (एमाले)का जिल्ला सचिव राजेश्वर ढकाल, नेपाली कांग्रेसका सचिव लक्ष्मीभक्त खनाललगायतले शारीरिक र मानसिक विकासका लागि खेल आवश्यक रहेको बताउनुभयो । प्रतियोगितामा व्यास, शुक्लागण्डकी, भिमाद, भानु नगरपालिका, आँबुखैरेनी, देवघाट, म्याग्दे र घिरिङ गाउँपालिकाबाट खेलाडीको सहभागिता रहेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा कराते, एथलेटिक्स, भलिबल, कबड्डीलगायतका खेल सञ्चालन हुनेछ । तनहुँबाट छनोट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रदेश खेलकुद परिषद्ले असार २३ र २४ गते पोखरामा प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना गरेको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालनका लागि खेलकुद विकास समितिका अध्यक्षको संयोजकत्वमा प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति गठन गरिएको छ । समितिमा स्थानीय तहको प्रमुखले तोकेको प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीले तोकेको प्रतिनिधि, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखले तोकेको प्रतिनिधि, जिल्लास्थित नेपाली सेनाका प्रमुखले तोकेको प्रतिनिधि, प्रहरी कार्यालयका प्रमुखले तोकेको प्रतिनिधि, सशस्त्र प्रहरीको प्रमुखले तोकेको प्रतिनिधिलगायत सदस्य रहने प्रावधान छ ।