११ मंसिर २०८१, मंगलबार 1732632198
Banner

बूढीगङ्गाको त्रिशक्ति मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर

बाजुरा: बूढीगङ्गा नगरपालिकामा पुनःनिर्वाचनका क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ । मतदानका क्रममा वडानं ९स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोज्दा झडप भएको बताइएको छ । झडपमा गठबन्धन र एमाले कार्यकर्ता घाइते भएका छन् । गठबन्धनका तर्फवाट उम्मेदवार बन्नुभएका भरत थापा र एजेण्ट लक्ष्मण थापा घाइते हुनुभएको छ । मतदान केन्दमा विवाद भएपछि करिब १५ मिनेट मतदान स्थगित गरिएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

“केहीबेर विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’’ उहाँले भन्नुभयो, “करिब १५ मिनेट मतदान स्थगित भयो । अब पुनः मतदान सुरु भएको छ ।”
गत ३० वैशाखमा स्थगित मतदान आज बिहान ७ बजेदेखि पुनः प्रारम्भ गरिएको हो । यहाँ नगरप्रमुखको पदमा नेपाली कांग्रेसका रङ्ग खाती र एमालेका रामबहादुर बाँनिया उम्मेदवार छन् ।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । यसअघिको मतदानका क्रममा दशमध्ये छ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । निर्धारित समयमा मतदान हुन नसक्दा उक्त नगरपालिका जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।