२६ जेष्ठ २०८३, मंगलबार 1781049716
अर्थ

गहुँको पिठो, मैदा र सुजीको निर्यातमा पनि लगायो भारतले प्रतिबन्ध

काठमाडौँ : दुई महिनाअघि गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँको अरु उत्पादन निर्यातमा समेत प्रतिबन्ध घोषणा गरेको छ । गहुँ निर्यात गर्न निर्यातकर्ताले हाल अन्तरमन्त्रालय समितिको अनुमति लिएर मात्रै ढुवानी पक्रिया अघि बढाउन पाइरहेका छन् ।

विदेश व्यापार महानिर्देशनालयले बुधबार जारी गरेको सूचनाअनुसार आउने मंगलबार ९असार २८० देखि आटा, मैदा, सुजी लगायत गहुँका उत्पादनमा प्रतिबन्ध लगाइनेछ । मालबाहक जहाजमा लोड गरिसकेका वा भन्सारमा बुझाइसकिएका उत्पादनलाई भने रोकतोक नहुने बताइएको छ । वैशाख ३० मा भारतले गहुँको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । त्यसयता भारतमा गहुँको पिठोको मूल्य केही कम भए पनि हाल पिठो निर्यातसमेत रोकिएको छ । यसले नेपाल समेत प्रभावित हुनेछ ।
छिटो पैसा कमाउने दाउमा रहेका व्यापारीले गहुँको सट्टा गहुँको पिठोको असामान्य मात्रामा निर्यात नगरुन् भनेर सरकारले गहुँका उत्पादनको समेत निर्यात रोकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतले अप्रिलमा मात्रै करिब ९६ हजार टन गहुँको पिठो निर्यात गरेको थियो । गत वर्ष यही महिनामा २६ हजार टन मात्रै निर्यात भएको थियो ।

भारत सरकारले आफ्नो देशको समग्र खाद्य सुरक्षा व्यवस्थापनको लागि र छिमेकी तथा जोखिमयुक्त देशहरूलाई सहयोग गर्न गहुँ निर्यातलाई ‘प्रतिबन्धात्मक’ कोटामा राखेको जनाएको छ । ‘छिमेकी र जोखिमपूर्ण अवस्थामा रहेका विकासोन्मुख देशहरूलाई खाद्य सुरक्षा प्रदान गर्न भारत प्रतिबद्ध छ,’ वैशाखमा जारी गरिएको महानिर्देशनालयको सूचनामा भनिएको थियो, ‘विश्व बजारमा आएको आकस्मिक परिवर्तनले पर्याप्त गहुँ आपूर्तिमा यी क्षेत्रले पहुँच बनाउन सकेका छैनन् ।’