८ मंसिर २०८१, शनिबार 1732383601
Banner

औँलामा उठेको ठेउला देखाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री हुँदा मुद्दा मामिलाका लागि ५६ हजार हस्ताक्षर गरे’

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा मुद्दा मामिलाका लागि ५६ हजारवटा हस्ताक्षर गर्नुपरेको बताउनुभएको छ । सोमबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार, अनियमितताका विषयमा एमाले न्यायिक बाटोमा जान्छ कि जाँदैन भन्ने प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले एमाले मुद्दा मामिलाप्रति फ्रस्टेट भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, म प्रधानमन्त्री हुँदा सुर्खेतमा धाराको टुटि बिग्रियो भनेपनि मुद्धा हाल्ने चलन थियो । मुद्धा अध्ययन गर्दा मुद्धा लेख्दा, प्रधानमन्त्री कार्यालयमा ५/७ जना वकिल राख्या छ विहानदेखि त्यही काममा खटिएको छ, लाग्छ प्रधानमन्त्रीको अरु कामै छैन ।

आफू प्रधानमन्त्री हुँदा सानातिना विषयमा प्रधानमन्त्रीलाई विपक्षी बनाएर मुद्दा दायरा हुँदा जवाफ दिँदा दिँदा निकै नै हैरानी खेप्नुपरेको उहाँको गुनासो थियो । सो क्रममा करिब ५६ हजारपटक हस्ताक्षर गरेको र हस्ताक्षर गर्ने क्रममा औँलामा ठेला नै उठेको ओलीले बताउनुभयो ।

‘एउटा मुद्दा कम्तीमा छोटो लेख्दा पनि १० पेजको प्रतिवाद पत्र हुन्थ्यो । एउटा मुद्दा १० पेजको तीनप्रति प्रतिवाद पत्र लेख्नुपर्छ । तीनप्रतिमै प्रधानमन्त्रीले सही गर्नुपर्छ, ३० पेज त भयो । ३० पेजको शिर र पिँधमा सही गर्नुपर्छ । छोटो भयो भने ६० वटामा सही गर्नुपर्छ,’ आफू प्रधानमन्त्री हुँदा सरकारलाई विपक्षी बनाएर दायर भएको रिटको जवाफ दिँदाको अवस्थाबारे जानकारी दिँदै ओलीले भन्नुभयो, ‘मैलै मोटामोटी हिसाब गर्दा ५५/५६ हजार हस्ताक्षर मैले प्रधानमन्त्री हुँदा मुद्दाको मामलामा गर्नुपर्‍यो, अब त्यो कम्प्युटरबाट पनि गर्न नमिल्ने, हस्ताक्षर गर्दा गर्दा यहाँनिर (हातको औँला देखाउँदै) ठेला उठ्यो । ”