८ मंसिर २०८१, शनिबार 1732386514
Banner

सप्तकोसी बाढी अपडेट : पानी बढेसँगै बेलकाका बासिन्दा फसे

काठमाडौं ।उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराहक्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् । कोसीे नदीको बाँध फुटेर गाउँ पस्दा बराहक्षेत्र–६ र ९ का पाँच सय घरपरिवारका दुई हजार पाँच सयजना फसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उनीहरु श्रीलङ्का टापुमा फसेको उहाँले बताउनुभयो ।

त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरु आउन नमानेको र फसेकाहरु सुरक्षित रहेको बताएको सुनसरीका प्रजिअ यादवले बताउनुभयो । यसैबीच कटान गरिएको क्षेत्रमा १ नं प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्की सहितले निरीक्षण गर्नुभएको छ । मन्त्री कार्की सहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको प्रजिअ यादवले बताउनुभयो । अहिले केही बेरमा प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । बैठकले पीडितलाई तत्काल उद्धार, आवश्यक राहतको प्याकेज, स्थानान्तरण लगायतका विषयमा केन्द्रित हुने उहाँले जानकारी दिनुभयो ।