बलियाका विरूद्ध कमजोरहरूको मोर्चा अर्थात चुनावी महागठबन्धन बन्न खोज्नुका पछाडि धेरै कारणहरू छन्, तर पहिलो र मुख्य कारण “सम्वृद्ध नेपाल सुखी नेपाली” बनाउने राष्ट्रिय संकल्पलाई कमजोर पार्ने र नेपालमा नियन्त्रित अस्थिरता कायम गर्ने नै हो । दक्षिणपश्चिमको आशिर्वाद र निर्देशनमा चुनावी महागठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जसपा, मसाल, लोसपा, नेसपा र वामदेवहरू रहने लगभग पक्का अनि राप्रपासँग निश्चित क्षेत्रमा तालमेल गर्ने रणनीति पनि बन्दैछ।
“सम्वृद्ध नेपाल सुखी नेपाली” बनाउने संकल्पका साथ क्रियाशील दल नेकपा एमालेले जनतासँग गठबन्धन बनाएर परमादेशी कम्फर्टेबल महागठबन्धनलाई जनादेशबाट विस्थापित गर्ने रणनीतिका साथ वामपन्थी, देशभक्त र लोकतान्त्रिक मतदाताहरूलाई एकजुट बनाउने चुनावी नीति, नेतृत्व र कार्यक्रम तयार गर्नुपर्छ। यसका लागि नेकपा एमालेका मुख्य नेतादेखि कार्यकर्ताहरूले किङमेकरको भावनाका साथ आफ्नो पार्टीको उम्मेदवारहरूलाई जिताउन सकारात्मक र रचनात्मक मनस्थितिसहित सक्रिय भएर आमजनतालाई महागठबन्धनको विपक्षमा उभिने परिस्थिति तयार गर्नुपर्छ। अन्यथा एकातिर नियन्त्रित अस्थिरता बढेर समय चुनौतिपूर्ण बनेर आउनेछभने अर्कातिर बाह्य हस्तक्षेप बढ्ने छ।
नेपाल कमजोर बनाउन वामपन्थी राजनीति कमजोर बनाउनु पर्छ र त्यो राजनीतिलाई विभाजित गर्नुपर्छ भन्ने बुझेको दक्षिणपश्चिमले नेकपा हुँदै नेकपा एमालेमा विभाजन गराएर परमादेशमार्फत जनादेशलाई पनि विस्थापित गर्ने काम गरेको थियो । माधव, झलनाथ र प्रचण्ड अर्थात माझण्डहरूलाई केपी ओलीका विरूद्ध शेरबहादुर देउवालाई बोक्न सघाएको थियो। दक्षिणपन्थी शक्तिहरूलाई थाहा छ, नेपालको देशभक्ति तथा वामपन्थी राजनीति कमजोर बनाउन नेकपा एमाले कमजोर बनाउनुपर्छ अनि नेकपा एमाले कमजोर बनाउन केपी ओलीलाई राज्य सत्ता र पार्टी सत्ताबाट हटाउनु पर्छ । दक्षिणपन्थीहरू आजसम्म आंशिक रूपमा सफल देखिएका छन्। तर स्थानीय चुनावमा जनता र कार्यकर्ताको सुझबुझपूर्ण साथ र सहयोगले नेकपा एमाले उनीहरूले अपेक्षा गरेजति कमजोर नभएपछि आगामी चुनावलाई लक्षित गरेर आठ नौ दलको चुनावी महागठबन्धन बनाउन प्रयास गरिरहेका छन्।
राजनीतिमा सही निष्कर्षमा पुग्नका लागि परिस्थितिको वस्तुनिष्ठ समिक्षा र विश्लेषणसँगै आगामी राजनीतिक कार्यभारका सम्बन्धमा स्पष्ट हुनुपर्छ। समयले वामपन्थी नेता तथा कार्यकर्ताहरूमा त्यो स्पष्टता र क्षमता खोजेको छ। बुर्जुवा दक्षिणपन्थी दल नेपाली कांग्रेसलाई अघि लगाएर माझण्डहरूले उदारीकरण र बजारीकरणको आर्थिक नीतिलाई बलियो बनाउने काम गर्दैछन् । उदारीकरण र बजारीकरणको अर्थ नीतिलाई विस्थापित गरेर नेपालमा समाजवादको बलियो जग बसाल्दै लोकतान्त्रिक गणतन्त्र जनमुखी र देशमुखी बनाउने अनि देश जोगाउने नै होभने आगामी चुनावमा परमादेशबाट बनेको कम्फर्टेबल सत्ता गठबन्धनलाई जनादेशबाट विस्थापित गर्नुबाहेक अर्को विकल्प छैन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जसपा र मसालहरूले नेपाल र नेपालीको स्वार्थमा होइन, बाह्य स्वार्थमा काम गर्दैछन् र गरिरहनेछन। यो कुरो जनतालाई बुझाउने दायित्व नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको क्षमतामा भर पर्नेछ।
महागठबन्धनका नेताहरूले नेकपा एमाले खासगरी अध्यक्ष केपी ओली विरूद्ध विभिन्न कोणबाट अभियान चलाउने छन् । किनभने उनीहरू आफ्नो असल र सबल पक्षको जगमा राजनीति गर्ने क्षमता राख्दैनन् । क्षमताहिनहरूले जहिल्यै पनि अरूको आलोचना गरेर जनताको समर्थन हासिल गर्न खोज्छन् । त्यो अस्वभाविक पनि होइन । गौतम बुद्धले भनेका थिए, “अनुचित आरोप कसैमाथि पनि, कुनैपनि बेला लाग्न सक्छ । त्यसबाट हिनताबोध र लज्जाबोध गर्नु जरूरी छैन्।” बुद्धको यो भनाईलाई आत्मसाथ गरेर नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाएर सक्रिय हुनुपर्ने भएको छ। यसका लागि नेकपा एमालेले कार्यकर्ताहरूलाई नियमित प्रशिक्षणका कार्यक्रमहरू गर्ने रणनीति बनाउनु पर्छ।
माझण्डहरूले बुर्जुवा दक्षिणपन्थीहरूको स्वार्थमा तत्कालिन नेकपाभित्र प्राविधिक बहुमतको आडमा केपी ओलीलाई पार्टी सत्ता र राज्य सत्ताबाट हटाउन कात्तिक २८, २०७७ मा केपी ओली विरूद्ध १९ पन्ने फौजदारी प्रकृतिको आरोप लगाइएको थियो । केपी ओलीलाई पार्टी र संसदीय दलबाट हटाएको सडकबाट घोषणा पनि गरेका थिए। ५ पुस २०७७ मा संसद विघटनको राजनीतिक निर्णयले माझण्डहरूको पहिलो योजना असफलमात्र भएको थिएन, नेपालको राजनीतिमा बाह्य चलखेल पनि कमजोर बनेको थियो।
५ पुस २०७७ बाट २८ असार २०७८ सम्म आईपुग्दा नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याएर केपी ओली नेतृत्वको जनादेश प्राप्त सरकार परमादेशमार्फत विस्थापित गर्न माझण्डहरूले मुख्य भूमिका खेले। उनीहरूले केपी ओलीलाई राज्य सत्ताबाट हटाएपछि नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ भन्ने परिकल्पना गरेर नेकपा एमाले विरूद्ध अभियान नै चलाइरहेका छन् । तर स्थानीय चुनावमा प्राप्त लोकप्रिय मतले नेकपा एमाले माझण्डहरूले परिकल्पना गरेजति कमजोर नभएको देखाएपछि उनीहरू कहिले सामाजवादी मोर्चाको चर्चा गरेर त कहिले महागठबन्धन बनाउने गृहकार्य गर्दै एमालेका विरूद्ध दक्षिणपन्थीको नेतृत्वमा रमाउँदैछन्। यसलाई उनीहरूले लोकतन्त्र र संविधान जोगाएको अनि अग्रगमनमुखी राजनीति भनेर जनतालाई भ्रमित बनाउन पनि खोज्दैछन्।
माझण्डहरू नेपालको वामपन्थी आन्दोलन ध्वस्त बनाउन दक्षिणपन्थीहरूले लगानी गरेर वामपन्थी आन्दोलनभित्र घुसपैठ गराइएका पात्रहरू रहेछन् भन्ने कुरा थाहा पाउन वामपन्थी नेता तथा कार्यकर्ताहरूले तिसौं वर्ष कुर्नुपर्यो। जसले गर्दा अझै माझण्डहरू नेता र कार्यकर्ताहरूलाई भ्रममा पार्न सफल भइरहेका छन्। तर गएको एकवर्षको अवधिमा माझण्डहरूको गतिविधिहरूले उनीहरू दक्षिणपन्थीका लागि काम गरिरहेको पुष्टी गरेको छ। जबसम्म माझण्डहरूको भ्रममा नेता तथा कार्यकर्ताहरू परिरहन्छन्, तबसम्म बुर्जुवा दक्षिणपन्थीहरूको मनोबल बढ्ने बढाउने काम भइरहन्छ। तर पनि अझै केही मान्छेहरू तिनलाई आदर्श मानेर हामी वामपन्थी हुँ भन्दैछन्। यो खालको विनास काले विपरीत बुद्धिले नेपालको वामपन्थी आन्दोलन कमजोर बनाएर दक्षिणपन्थीलाई बलियो बनाउने छ। त्यसैले आगामी चुनावअघि सक्किने कि सच्चिने अवसर माझण्डहरूको पछि लागेका कार्यकर्ताहरूलाई प्राप्त भएको छ।
महागठबन्धनका बारेमा पूर्व माओवादी नेता लोकेन्द्र बहादुर विष्ट भन्छन्, “गठबन्धन किन ? लाज छोप्न, मिलिजुली खान, लाजनीति गर्न, हार हटाउन अनि बैतर्नी पार गर्न।” त्यसैले नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र मसालमा लागेका नेता कार्यकर्ताहरूले कम्फर्टेबल चुनावी महागठबन्धन बनेमा निर्वाचन अघि नै विद्रोह गरेर ूदक्षिणपन्थी हराउने वामपन्थी जिताउनेू महाअभियानमा जोडिएर ूसम्वृद्ध नेपाल सुखी नेपालीू बनाउने राष्ट्रिय संकल्पको पक्षमा उभिदै राजनीतिक कार्यभार पूरा गर्नुपर्ने भएको छ। नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले ति कार्यकर्ताहरूसँग नियमित सम्पर्कमा रहेर उनीहरूसँग सम्वाद बढाउन विशेष अभियान नै चलाउनु पर्छ।
माझण्डहरू आफैले वर्गीय रूपमा दक्षिणपन्थी भनेको दल नेपाली कांग्रेसको नेतृत्वमा कम्फर्टेबल सत्ता गठबन्धन बनाएका छन् र चुनावी महागठबन्धन बनाउने प्रयासमा देखिएका छन् अनि आफूलाई सच्चा वामपन्थी हौं पनि भन्दैछन्। फेरि नेकपा एमाले प्रतिगमनकारी र दक्षिणपन्थी शक्ति भएको भन्दै विरूद्ध विष वमन गरेर जनमन भ्रमित बनाउन पनि खोज्दैछन्। एकातिर वामपन्थीको कुरा गर्ने अर्कातिर दक्षिणपन्थी दल कांग्रेसलाई जिताउन उसँग चुनावी महागठबन्धन बनाउन खोज्ने चेत र व्यवहारले पूर्ण रूपमा दक्षिणपन्थी बाटो लिएको देखाउँछ।
नेपाली कांग्रेस आफ्नो असल र सबल पक्षको जगमा होइन ुविभाजन र शासनुको नीतिअनुसार दक्षिणपश्चिमको आशिर्वादमा नेपालको राजनीतिमा पहिलो दल बनेर सत्ताको नेतृत्व गर्न चाहन्छ। त्यसैले त उसले नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउन सघायो। यस्तो कायर, विचारहिन र विदेशीको आज्ञाकारी दलको नेतृत्वमा माझण्डहरू भने लोकतन्त्र र संविधान जोगायौं भन्दै नेकपा एमालेको विरोधमा रमाएका छन्।
पाँच दलीय गठबन्धनको चुनावी महागठबन्धन बनाउने कसरतलाई लिएर डम्बर खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्, “गठबन्धनका लागि जसरी सवै दल र नेताहरू मरिहत्ते गर्दैछन्( त्यसबाट प्रष्ट हुन्छ, कसैलाई आफ्नो विचार, सिद्धान्त र एजेन्डामा विश्वास छैन्। सबै सेन्डिकेडमा भाग खोज्ने सटरवाला मात्रै हुन्( कुनै लक्ष्य, उद्देश्य, अस्तित्व र पहिचानसहितका दल हैनन। यिनले खोजेको लोकतन्त्र हैन, सेन्डिकेडतन्त्र हो।” त्यस्तै गठबनधमा संलग्न हुन खोजेका दलहरूलाई व्यंग्य गर्दै जयन्तनाथ खनालले सामाजिक सञ्जालमा लेखेका छन्, “गठबन्धनका दलहरू एउटै चुनाव चिन्हमा लड्नुको साटो बरू पार्टी एकता गरेर दल दर्ता गरे हुन्छ। आखिर यिनको सिद्धान्त ( गणतन्त्र, संघीयता, धर्म निरपेक्षता एउटै छ। खाने मुखले समाजवाद भनेपनि चपाउने मुख देश लुट्न मै उन्मुख छ। जनतासँग मत माग्दा समेत सफा हात आउन नसक्नेले बहुदलीय संसदीय व्यवस्थाको हुर्मत लिनु लिए।”
यतिखेर गठबन्धनमा रहेका दलहरू खासगरी माओवादी केन्द्र र एकिकृत समाजवादीका मुख्य नेताहरूले जसरी पनि नेकपा एमालेलाई हराउने सर्तमा नेपाली कांग्रेससँग गठबन्धन बनाउन खोजेका छन्। त्यसैले आज माझण्डहरू जोसुकैले जितोस् तर एमालेले नजितोस् भन्दैछन्। यसलाई नेपाली कांग्रेसले माओवादी केन्द्र र एकिकृत सामाजवादीको बलमा नेकपा एमालेलाई हराएर पहिलो दल बन्ने अवसर ठानेको छ। यो अवसर सिर्जना गर्न उसले एमालेसँग स्वस्थ प्रतिस्पर्धा होइन, शत्रुतापूर्ण नीति लिएको छ। जबकी २०७४ सालको आमनिर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लड्दा नेकपा एमालेले नेपाली कांग्रेससँग लोकतान्त्रिक स्वस्थ प्रतिस्पर्धा गरेको थियो। नेपालको राजनीतिमा नेपाली कांग्रेसले जुन चरित्र देखाउँदैछ र माझण्डहरूले जस्तो राजनीतिक अभ्यास गर्दैछन्, यसले नेकपा एमालेलाई हराउनमात्र खोजेको छैन्, लोकतान्त्रिक गणतन्त्रलाई विकृत बनाएर जनतामा वितृष्णा बढाउने काम गरेको छ। लोकतान्त्रिक गणतन्त्र विरोधीहरूको मनोबल बढाएको छ। देशभित्र बाह्य चलखेल सहज बनाएर नेपालमा नियन्त्रित अस्थिरता संस्थागत बनाउने लक्ष्य पनि लिएको छ।