९ मंसिर २०८१, आइतबार 1732455703
Banner

सत्ता गठबन्धनको बैठक बिना निस्कर्ष टुंगियो

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले भन्नुभयो, ‘छलफल जारी नै छ । अहिलेसम्म सहमति भएको छैन । अब अर्को बैठक बुधबार ४ बजे बस्छ ।’

मन्त्री कार्कीले भन्नुभयो, “कार्यदलको बैठक बस्यो, चाँडोभन्दा चाँडो गृहकार्य पूरा गर्नका निमित्त छलफल व्यवस्थित रुपमा अगाडि बढाइएको छ । ”

उहाँले भन्नुभयो, “मापदण्ड बनाउँदा २०७४ को निर्वाचनमा प्राप्त समानुपातिक मत र गएको स्थानीय निर्वाचनको मतको आधारमा हुन्छ । एकीकृत समाजवादीले भने २०७४ मा चुनाव लडेको छैन, यसलाई विशिष्ट रुपमा राखेर मापदण्ड तय गरेर अगाडि बढ्छौं ।”

सिट बाँडफाँट सम्बन्धमा सकेसम्म कार्यदलकै तहमा सहमति खोज्ने र प्रतिवेदन बनाएर नेतृत्वमा दिने मनसाय रहेको उहाँको भनाइ छ । अहिलेको गठबन्धन कसैको विरुद्ध नभएको उल्लेख गर्नुहुँदै उहाँले यी विषयमा सकारात्मक रुपमा कुरा अघि बढेको बताउनुभयो । साथै उहाँले निर्वाचन सुरक्षाको संवेदनशीलतालाई पनि ध्यान दिइने उल्लेख गर्नुभयो ।

यसअघि बसेको कार्यदलको बैठकमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँट गर्ने भनिए पनि नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलले २०७४ को निर्वाचन परिणामलाई पनि आधार बनाउनुपर्ने अडान लिएका थिए ।