सन्धिखर्क । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले आफ्नो पार्टीको सरकारले ढालेर माधव नेपाल र प्रचण्डले राजनीतिक कुसंस्कार देखाउने काम गरेको बताउनुभयो ।
उपाध्यक्ष नेम्वाङले राजनीतिक बेइमानी गर्ने नेताहरूलाई जनताले मसिर ४ गतेको निर्वाचनबाट जवाफ दिनुपर्ने बताउनुभयो ।
निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने तागत एमाले बाहेक नेपालका कुनै दलसँग नभएको बताउँदै उपाध्यक्ष नेम्वाङले एमाले कति शत्तिशाली रहेछ भन्ने यसैबाट प्रमाणित भएको बताउनुभयो ।
सत्तामा रहेका दलहरू प्रतिपक्षसँग डराएर गठबन्धन गरी निर्वाचनमा जाने अवस्था सिर्जना भएको वताउँदै उहाँले परमादेशी सरकारलाई जनमतद्वारा विस्थापित गरी एमाले सत्तामा जाने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियताको सवालमा एमालेले कसैसँग सम्झौता नगर्ने बताउँदै नाकाबन्दी खोल्ने र नाकाबन्दीको त्रास सदाका लागि अन्त्य गर्ने, चुच्चे नक्सा प्रकाशन गरी आफ्नो भूभागको संरक्षणका लागि पहल गर्नेसम्मका अध्यक्ष ओलीका कदमले नेपालको स्वाभिमान उँचो भएको उपाध्यक्ष नेम्वाङले बताउनुभयो ।
पार्टीभित्रका केही समस्या समाधान गरी मसिर ४ गतेको निर्वाचन जाँदा अझै सफलता प्राप्त हुने उहाँको भनाई थियो । उहाँले पार्टीभित्रका कमी कमजोरीलाई सच्याएर जनतामा जानुपर्ने बताउनुभयो । वर्तमान गठबन्धन सरकार भ्रष्टाचारमा डुवेको बताउँदै सरकार गैरकानुनी धन्दामा लागेको उपाध्यक्ष नेम्वाङको भनाई थियो ।
कार्यक्रममा पार्टीका सचिव टोपबहादुर रायमाझीले जिल्लामा स्थानीय निर्वाचनको चर्चा गर्दै एमालेका केही पकेट क्षेत्रलाई जोगाउन नसकिएका विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेता रायमाझीले गठबन्धन देशमा कुशासन र बेथिति ल्याउनका लागि भएको बताउनुभयो । नेकपा एमालेलाई एकल बहुमतको सरकार निर्माण गर्ने गरी मतदान गर्न मतदातासँग आग्रह गर्दै एमाले बाहेक अन्य कुनै दलले देशको विकास गर्न नसक्ने उहाँको भनाई थियो ।
पाटीृका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले एमालेले चारैतिरको घेराबन्दीलाई तोड्दै विजय यात्रामा अगाडि बढ्ने बताउनुभयो । पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका पक्षमा बोल्न थालेपछि उहाँको नेतृत्वको सरकार ढालिएको वताउनुभयो । अर्का पोलिटव्यूरो सदस्य विमला घिमिरेले देशभर एमालेको पक्षमा लहर रहेको भन्दै एकजुट भएर निर्वाचनमा परिचालित हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पार्टीका पोलिटव्यूरो सदस्य सूर्य थापाले अरूको भरमा पार्टी धान्दै आएका प्रचण्ड र माधव नेपालको पार्टीलाई आगामी निर्वाचनमा पत्तासाफा पार्नुपर्ने बताउनुभयो ।