८ मंसिर २०८१, शनिबार 1732367266
Banner

कविराम र कर्णबहादुरको सच्चियो नागरिकता

दैलेख । नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुवैको नाम सच्याइएको छ । नेपाली नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको हो ।

साबिक मेहेलतोली गाविस–६ हाल भगवतीमाई गाउँपालिका मेहेलतोलीका कविराम र साबिक कट्टी गाविस ६, हाल भगवतीमाई गाउँपालिका ५ का कर्णबहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालयले अपमानजनक नाम सच्चाएर नयाँ नागरिकता जारी गरेको हो । तत्कालीन मेहेलतोली गाउँ पञ्चायत– ६, हाल भगवतीमाई गाउँपालिका ३ मा २०१७ पुस २५ गते जन्मिएका कविराम कामी अहिले उमेरले ६२ वर्ष पुग्नुभएको छ ।

तत्कालीन श्री ५ को सरकार, जिल्ला कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाउनु भएको थियो । तत्कालीन समयमा गाउँमा पुगेको नागरिकता टोलीले उहाँलाई ‘कुकुर कामी’ नाम राखेर नेपाली नागरिकता थमाएको थियो ।

नागरिकतामा अपमानजनक नाम भएको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन गरेको थियो । साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो ।

गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिनुभएको थियो ।

कविराम जस्तै नेपाली नागरिकतामा ठगे कामी लेखिएका साबिक कट्टी गाविस(६, हाल भगवतीमाई गाउँपालिका ५ का कर्णबहादुरको पनि नागरिकताको महलमा कर्णबहादुर विक लेखिएको नयाँ नागरिकताको प्रतिलिपि पाउनु भएको छ । नामकै कारण अपमानित हुनुपरेका कर्णबहादुरले साउन २९ गते जिल्ला प्रशासनमा निवेदन दिनुभएको थियो ।

आवश्यक प्रक्रिया पुर्‍याएर कविराम कामी र कर्णबहादुर विकको नयाँ नागरिकताको प्रमाणपत्र जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताएउनु भयो। ‘हामीले नागरिकतामा कुकुर कामी लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकलाई नागरिकताको नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपि जारी गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भन्नुभयो । उहाँले नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिहरूलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गर्नुभएको छ ।