काठमाडौं – नेकपा एमालेको पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय गरेको छ ।
पार्टी कार्यालय, च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनको सारांश प्रस्तुत गर्नुभएको थियो । भोलिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने पहिलो एजेण्डा छ ।
चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरुको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तरघातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेश गर्ने पनि एजेण्डा रहेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनु भयो ।
उहाँका अनुसार पहिलो एजेण्डाका रुपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेससहित त्यसमा ग्रुप विभाजनमार्फत छलफल गर्ने, मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई सपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो एजेण्डा रहेको छ ।
त्यस्तै यसअघि पार्टी सचिवालयले गरेका निर्णयहरु पेश गर्ने तेस्रो एजेण्डा रहेको छ भने उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया चौथो एजेण्डा बनेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनु भयो । त्यस्तै पाँचौ एजेण्डामा स्थानीय निर्वाचनका सम्वन्धमा छानविन गर्न उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको छानविन समितिको प्रतिवेदन पेश गर्ने र छैठौं एजेण्डामा दोहोरिएका पार्टी संगठित सदस्यलाई व्यवस्थापन गर्ने रहेको छ ।
केन्द्रीय सल्लाहकार परिषद र तीन आयोगको रिपोर्ट अनुमोदन गर्ने सातौं एजेण्डा र भारत प्रवासको नियमावली पास गर्ने आठौं एजेण्डा बनाएको एमालेले पार्टी विभाग परिचालनका सम्वन्धमा केही नियमहरु पारित गर्ने एजेण्डा तय गरेको छ । त्यसैगरी मनोनित केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन पनि एमाले केन्द्रीय कमिटी बैठकले गर्नेछ ।
११ औं एजेण्डाका रुपमा समसामयिक राजनीतिक प्रतिवेदन पारित गर्ने रहेको गुरुङले जानकारी दिनु भयो । बैठकमा खिमलाल भट्टराई सुमन प्याकुरेल, निरु पाल, शान्ता चौधरी, लालबाबु पण्डित, खगराज अधिकारी, अग्नि खरेलसहित १५ जनाले सुझाव अध्यक्ष ओलीको प्रतिवेदनमा समेट्नु पर्ने सुझावहरु राखेका छन् ।