८ मंसिर २०८१, शनिबार 1732345394
विचार

अनेम संघ, तीज र प्रगतिशील तीज

दैनिक जीवन यापनका लागि,उपार्जन र उत्पादन संघर्षमा लाग्दा मानिस थाकेर हैरान र लखतरान भयो । यस अवस्थामा भोलिका दिनमा पहिले झैँ श्रमसंघर्षमा सशक्त रुपमा लाग्न मानवले पुनर्ताजगी आवश्यक ठान्यो । पोसिलो खाने कुरा खाने र नाचगान समेत गरेर शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त गर्ने उपक्रममा चाडपर्वको सुरुवात भएको स्पष्ट हुन्छ । दसैँ,तिहार,तीज र म्ह ह पूजा अर्थात् शरीरको पूजा यसका उदाहरण हुन् ।

समय क्रममा चाडपर्वहरु एक जाति, एक धर्म र एक संस्कृति समुदायमा सीमित पार्ने प्रपञ्च सुरु भयो । यही क्रममा प्रायः चाडपर्वहरुमा सामन्तवादी धार्मिक सांस्कृतिक सार र रुप मिही रुपमा प्रवेश गराइयो । ब्राम्हण समाजमा आफूले खानुभन्दा पहिले भातको थालअगाडि भृुईमा …भूपतये स्वाहा भुवन पतये स्वाहा ..(.राजालाई उपहार ) भन्दै अप्सानी हालेर अर्पण गर्नुपर्ने स्थिति बसालियो । यस्ता कर्महरु सामन्ती शासन व्यवस्थाले सुललित शब्द,स्वर, संगीत र लयमार्फत् सुरु ग¥यो ।
कृषि र पशु पालन सुरु र विकसित भएपछि प्रायः सबै चाड पर्व सुरु भएको देखिन्छ । खेतीपातीका क्रममा बालीनाली लगाउँदा,बाली हुकिँदा,बाली फल्दा र बाली घरमा ल्याएर थन्क्याई सकेपछिका अवसरहरुमा पनि खुसियाली मनाउने क्रममा पर्वहरु सुरु भए । न्वाँगी, उभौली उधौली, लगायत पर्वमा बालीनाली राम्रो होस्,विपत्तिहरु नआउन् भनी साकेवा,साखेवाशिली गर्दै गाउँने र नाच्ने पर्व हुन् । बाली लगाउने र थन्क्याउने अवसरमा वर्षमा दुईपटक मनाइने चाड उधौली र उभौली हुन् ।, यस पर्वमा कृषि कर्म जन्य नृत्य र अभिनय गरिन्छ ।

भूगोल,भाषा संस्कृति,जातजाति, समुदाय,उमेर समूह र लिङ्गत आधारमा चडपर्वका विभिन्न प्रकार हुन्छन् । तर तिहार भने युगान्तकारी पर्व हो । आदिम अवस्थामा एउटै आमाका छोरा छोरीका बीच हु्ने स्वच्छन्द यौन सम्बन्ध राख्ने परिपाटी थियो । यसलाई हटाएर व्यवस्थित अनुशासित वैवाहिक परम्परा सुरु गरिएको ऐतिहासिक पर्व हो तिहार । ऋग्वेदमा यम र यमी नाम गरेका एउटै आमाका सन्तान दाजु बहिनीको संवादले स्वच्छन्द यौन सम्बन्ध हटाउने कुराको पुष्टि गर्छ । चेली माइतीजस्तो आदर र आत्मीय सम्बन्ध राख्ने तिहारजस्तै पर्वका रुपमा सामाचखेवा,जितिया,राखी र चासोकतङनाम आदि पर्छन् ।

त्यसैगरी प्रकृति, पशु पन्छी केन्द्रित पर्व पनि हुन्छन् । कुकुर, गाई,गोरु,भ्यागुता आदि र वसन्त उत्सव, हलसारो र हलेरो वा भूमे पूजा र जात्री पर्व वा चाडहरु यस खालका उदाहरण हुन् । चाडपर्वले फलफूल,कन्दमुलको पर्याप्तता , लटरम्म फल फलेको र फूलहरु फुलेकोजस्ता ऋतु परिवर्तनजन्य अवसरलाई पनि स्पष्ट दर्साउँछन् ।

तीज भने विशेषतः महिला केन्द्रित पर्व हो । वामन शिवराम आप्टेको संस्कृत हिन्दी शब्दकोशमा तिज् नितान्त इच्छार्थ,साथ निर्वाह गर्नु भन्ने अर्थ उल्लेख गरिएको पाइन्छ । संस्कृतहुँदै विकसित यस शब्दले सामूहिक रुपमा सम्पन्न गरिने कार्यलाई जनाउँछ ।

यसको नालिबेली भने शिव र पार्वती प्रणयसित जोडिएको पाइन्छ । भगवान् विष्णुसित विवाह गर्न नमानी शिवसित अनुरक्त पार्वती र उनको तपस्या तीजसित जोडिएको छ । पार्वतीका साथीहरुले हरण गरेर शिवसितको सान्निध्यमा पु¥याएको अर्थमा हरितालिका भनिएको देखिन्छ । शिवजस्तो पति पाउने र पतिको दीर्घायु,सुस्वास्थ र समृद्धिको कामना राखी महिलाहरुले भाद्र शुक्ल द्वितीया देखि चार दिन सम्म मनाउने नै पर्व तीज हो । पहिलो दिन पोसिला र मीठा परिकार खाने वा दर खाने,दोस्रो दिन पानी समेत नपिई पतिको दीर्घायुको कामना स्वरुप ब्रत वा निराहार बस्ने अनि तेस्रो दिन विधिवत् स्नान गर्ने र पाँचौँ दिन भारद्वाज,विश्वामित्र,अरुन्धती,काश्यप,अत्रि आदिको पूजा आरधना गर्ने परम्परागत प्रचलन रहेको देखिन्छ । महिलाको रजस्वलालाई घृणाको दृष्टिले हेर्ने तत्कालीन न्यून चेतना यस पर्वमा झल्किन्छ । त्यसैले एक दिन भए पनि महिलाहरु फुक्काफाल भएर पुनर्ताजगी पर्वका रुपमा तीज पर्वलाई महिलाहरुले लिने गरेका छन् ।

तीज महिलाका श्रम संघर्षमय जीवन, सामाजिक र पारिवारिक उपेक्षा र अपमान द्वन्द्वबाट पीडित महिलालाई जीजिविषा प्रदान गर्ने पर्व हो । अनमेल विवाह,बहुविवाह, वालविवाह र विवाहित महिलाले भोग्नु परेका अनेक सकसहरु एक दिन भए पनि बिर्सने ,दुःख बिसाउने तथा रमाउने पर्वका रुपमा यो पर्व सुरु भएको देखिन्छ ।

शिव र पार्वतीलाई आधार मानेर ईश्वरीय धार्मिक सांस्कृतिक पहिचान सुरु गरिएको अनुभव हुन्छ । यसैले यस पर्वमा धार्मिक अन्धवाद र अतिवाद विकसित हुनगयो । तत्कालीन न्यून चेतनाका कारण यस पर्वलाई अन्धकरण गरियो ।

तर गहन अन्वेषण गरेको गर्दा बुद्ध मानव र महामानव का रुपमा प्रमाणित भएझै सूक्ष्म अध्ययन र अनुसन्धानबाट शिव पार्वती मानवका पुर्खा हुन् भन्ने स्पष्ट हुन्छ । बुद्धलाई विष्णुको दसौँ अवतार पनि भनियो र अतिरञ्जित गरियो ।

शिव र पार्वती प्रणयबाट एकनिष्ठ विवाह प्रथा सुरु भएको र त्यसमा अभिभावकको अनावश्यक हस्तक्षेपलाई स्पष्ट पार्छ ।
अनमेल ,बहु ,विधवा ,बाल विवाह लगायत अनेक खालका महिला अन्याय र हिंसा जस्ता उत्पीडित महिलाको सम्मीलन नै तीज हो । यस विरुद्धको जागृत आदिचेतना पार्वती शिव प्रणयबाट पुष्टि हुन्छ । भेलेन्टाइन नामको पश्चिमा प्रणय पर्वभन्दा बहुआयमिक महत्वको पर्व हो तीज ।

पितृसत्तात्मक समाजको पीडा सहन नसकेर नदी,भीर र पहराबाट हाम्फालेर आत्महत्या गर्न बाध्य हुन्थे । त्यसैले यस खालका पीडालाई एकदिन भए सामूहिक रुपमा भेला भएर बिर्सने र रमाउने पर्व नै तीज हो । यो चाड २०४६ पछि अनेम संघ मार्फत् महिला समानता,जागरणसित र महिला चेतना बृद्धिसित सम्बन्धित हुन थाल्यो तर पनि यसमा अनेक खालका रुढीगत मान्यताको अवशेष अझै पनि गाउँहरुमा पाइन्छ ।

त्यसैले तीज लगायत पर्वमा विद्यमान जीवनोपयोगी तथा समाज उपयोगी पक्षहरुलाई विकसित र समृद्ध गर्दै जानुपर्छ भने अन्धविश्वासजन्य तमाम पक्षहरुलाई कलात्मक हस्तक्षेपका साथ हटाउँदै जानुपर्छ । कम्तीमा देशभक्त प्रगतिशील लेखक कलाकार र बुद्धिजीवीहरुको यसमा पहिलो दायित्व र जिम्मेवारी हुने देखिन्छ ।

मानिसका मन र मस्तिष्कबाट नै सबै खालका विभेद,असमानता र अन्याय हटाउनु पर्छ । नेपालको संविधान २०७२ ले समेत उपर्युक्त खालका गतिविधिलाई दण्डनीय मानेको छ । यस कुरामा अखिल नेपाल महिला संघले विशेष ध्यान दिनुपर्छ । आधा आकास र धर्ती मात्र होइन यस देशमा महान् परिवर्तन ल्याउन सक्ने यो संघ र यसको नेतृत्व आफैँमा पर्वबारे सुस्पष्ट हुनु अपरिहार्य छ । पिँध बिनाका लोहोटाको कुनै भर हुँदैन । जबजले र एमाले समाजवादको आधार तयार पार्दै अगाडि बढ्ने ध्येयमा रहेको छ तर हामू्रा सोच,विचार र कर्म क्षणिक कुरामा मात्र अलमलिएको देखिन्छ ।

प्रताडित छोरी, बुहारी तथा आमाहरु भेला भई तन रञ्जन र मनोरञ्जन गर्ने तीज जस्ता पर्वको धेरै महत्व रहेको देखिन्छ । अनेक खालका पीडाभित्र पनि प्रतिभा जन्माउने र फूलहरु फुलाउने उद्देश्य राख्ने आम महिलाका लागि जीजीविषा जगाउने पर्व हो तीज ।
सामन्तवादी सांस्कृतिक अवशेषका कारण महिलाहरुकै बीच विद्यमान अनेक खालका असमानता र विभेद हटाउन जरुरी पर्छ । तीज पर्वलाई बहुआयामिक जागरणमुखी पर्वका रुपमा रुपान्तरण गर्न सीमान्तीकृत महिला समूहसम्म विस्तारित गर्नुपर्छ । शहरमुखी होइन गाउँ र दुरदराज र पछिपरेका क्षेत्र र सबै महिलाका बीचमा तीजलाई पु¥याउनु जाती हुन्छ । तीज खाद्य पेय संस्कृतिसित पनि जोडिएको छ । नेवार समुदायको खानपीन पर्याप्त पौष्टिक रहेको स्पष्ट हुन्छ । डा. अरुण उप्रेती धेर्रै जसो बजारु खानालाई पत्रु खाना भन्नुहुन्छ । यस्ता खानाले महिला बाल बालिका धेरै खालका रोगले ग्रस्त हुने गरेको उहाँ बताउनु् हुन्छ । मकै,कोदो,फापर,भटमास,सिस्नु,साग र गेडागुडी आदि पौष्टिक खाद्य नै स्वस्थ्य वर्धक खाद्य पदार्थ हुन् । जुम्ला हुम्ला लगायत दुरदराजमा स्थानीय पौष्टिक खाद्य उत्पादन उपभोग गर्ने र तिनको उत्पादन बुद्धि गर्ने कुरामा ध्यान दिन सकिन्छ । कुन खाने कुरा खाएको लगत्तै अरु खाने कुरा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्छ र मानिस मर्न पनि सक्छ भन्ने कुरालाई पनि यस अवसरमा विचार व्यक्त गर्न सकिन्छ । कतिपय महिलाहरुले भद्दा प्रशाधन,आभूषण र नृत्य गीतबारे बेर्लैमा सचेतता अपनाउने कुरामा पनि विमर्श गर्न सकिन्छ । कम्तीमा देशभक्त प्रगतिशील तथा लोकतान्त्रिक अगुवा महिला संगठनले राजनैतिक जागरण गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ । यस्ता सांस्कृतिक महत्वका विषयमा संस्कृति विभागले बेलैमा पर्व सम्बन्धी सत्यतथ्य वस्तुवादी दृष्टिकोण अघि सारेर औचित्य पुष्टि गर्नुपर्छ । अहिले सबै पार्टी र नेता चोर भन्ने भ्रम भुईँतहदेखि नै छर्न थालिएको देखिन्छ । यस्ता सफेद झूट र भ्रमलाई ध्वस्त पार्ने कुरामा अनेम संघ केन्द्र लाग्नुपर्छ ।

। तीज विषयमा परम्परागत गीत संगीतमा मात्र भर नपरी समयसापेक्ष नेपाली लगायत अरु पनि राष्ट्रभाषाका तीज विषयका जागरणमूलक, चेतनामूलक तथा मनोरञ्जनात्मक पक्ष कलात्मक रुपमा उजागर गर्ने कुरामा ध्यान दिनु पर्छ । तीज लगायत सबै चाडपर्व मानवीय जीवन र समाजलाई सबै हिसावले सबल र समृद्ध बनाउन निर्माण भएका हुन् । कुनै पनि पर्व र चाड अलौकिक अद्वितीय ईश्वरीय शक्तिका प्रसाद होइनन् । मानव समाजले आवश्यकता बोध गरेर आर्थिक भौतिक तथा बौद्धिक रुपमा समाजलाई समृद्ध बनाउने हेतुले सिर्जना र विकास गरेका हुन् । उत्पादक शक्ति र साधन स्वयं सबल र सशक्त हुनु अपरिहार्य हुन्छ । यसका लागि शक्ति सञ्चय गर्नु जरुरी हुन्छ । कठिनतम श्रममय जीवनमा थाकेर लखतरान भएको मानव शक्ति नै आर्जन, उपार्जन र उत्पादनको सचेतन शक्ति र सामथ्र्य हो । यसलाई पुनर्ताजगी अपरिहार्य हुन्छ । नत्र भोलिका दिनमा पहिलेझैँ श्रमकर्ममा माटो भएर लाग्न सक्तैन । तसर्थ तीज लगायत चाडपर्वहरु समाज र देशको उन्नति र समृद्धिको कारक तत्व हो । यस्ता पर्वहरु देशका मौलिक संस्कृति पनि हुन् । यी पर्वहरुमा समय सापेक्ष सुधार र परिमार्जन गर्दै जाँदा मात्र तिजको औचित्य पुर्नपुष्टि हुने देखिन्छ ।

(लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभागका सदस्य हुनुहुन्छ ।)