सन्जय थापा

नेपाली कम्युनिस्ट आन्दोलनले आज ७७ वर्ष पूरा गरेको छ। २००६ साल वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सात दशकभन्दा लामो यात्रामा अनेकौँ उतारचढाव, विभाजन, पुनर्गठन, आन्दोलन, उपलब्धि र चुनौतीहरू भोगेको छ। यो यात्रा केवल एउटा राजनीतिक दलको इतिहास मात्र होइन, नेपाली समाजमा परिवर्तन, समानता, सामाजिक न्याय, राष्ट्रियता र लोकतन्त्रको खोजीको इतिहास पनि हो।
कम्युनिस्ट आन्दोलनको सुरुवात त्यतिबेला भएको थियो, जब नेपाली समाज चरम गरिबी, निरक्षरता, सामन्ती उत्पीडन र राजनीतिक दमनको चपेटामा थियो। राणा शासनको निरंकुशता, किसान र मजदुरमाथिको अन्याय, सामाजिक विभेद र आर्थिक असमानताविरुद्ध जनताको पक्षमा उभिने राजनीतिक शक्ति आवश्यक थियो। यही ऐतिहासिक आवश्यकता पूरा गर्न नेपाल कम्युनिस्ट पार्टीको जन्म भयो।
स्थापनाकालदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनले अनेकौँ कठिनाइको सामना गर्यो। कहिले प्रतिबन्ध, कहिले गिरफ्तारी, कहिले भूमिगत जीवन, कहिले विभाजन र कहिले वैचारिक संघर्ष-यी सबै अवस्थाबाट गुज्रिँदै आन्दोलन अघि बढ्यो। पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, बहुदलीय लोकतन्त्रको पुनःस्थापना, जनआन्दोलन, गणतन्त्र स्थापना र संविधान निर्माणसम्म आइपुग्दा कम्युनिस्ट आन्दोलनले निर्णायक भूमिका खेलेको छ।
नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको परिवर्तनलाई हिंसात्मक विद्रोहको सीमामा मात्र नराखी जनताको मत, जनसहभागिता र लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाउने दिशामा स्थापित गर्नु हो। यही कारणले नेपाली कम्युनिस्ट आन्दोलन विश्वका अन्य देशका कम्युनिस्ट आन्दोलनभन्दा फरक र विशिष्ट मानिन्छ। जनताको बहुदलीय जनवादले लोकतन्त्र, राष्ट्रियता र समाजवादलाई एउटै मार्गमा अघि बढाउने दृष्टिकोण प्रस्तुत गर्यो। यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई जनतासँग जोड्ने, समयानुकूल बनाउने र राजनीतिक रूपमा स्वीकार्य बनाउने काम गर्यो।
यसै आधारमा एमालेले लामो समयसम्म नेपाली राजनीतिमा आफ्नो प्रभाव कायम राख्यो। एमालेले सरकारमा रहँदा राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास, विद्युत् उत्पादन, सडक विस्तार, सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरेको छ। संविधान निर्माण, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, राष्ट्रिय स्वाभिमानको रक्षा र विकासको स्पष्ट दृष्टि प्रस्तुत गर्नु एमालेका महत्वपूर्ण योगदान हुन्। “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पनि यही आन्दोलनको दूरदर्शी सोच हो।
तर ७७ वर्षको यात्रामा सफलता मात्र छैन, गम्भीर कमजोरी र आत्मसमीक्षाको आवश्यकता पनि छ। नेपाली कम्युनिस्ट आन्दोलनले पटक–पटक विभाजनको पीडा भोगेको छ। व्यक्तिगत महत्वाकांक्षा, गुटबन्दी, नेतृत्वबीचको अविश्वास, वैचारिक अस्पष्टता र संगठनात्मक कमजोरीले आन्दोलनलाई बारम्बार कमजोर बनाएको छ। जनता परिवर्तन चाहन्थे, तर कहिलेकाहीँ कम्युनिस्ट शक्तिहरू आफैँ सत्ता, पद र भागबण्डामा अल्झिए। जनताको अपेक्षा र पार्टी नेतृत्वको व्यवहारबीच दूरी बढ्दै गयो।
हालैको निर्वाचनमा एमालेले अपेक्षित परिणाम प्राप्त गर्न सकेन। पहिलो शक्ति बन्ने अपेक्षा राखिएको पार्टीले कतिपय क्षेत्रमा अप्रत्याशित धक्का बेहोर्नुपर्यो। यसलाई केवल गठबन्धन, प्रतिकूल परिस्थिति वा विपक्षी प्रचारको परिणाम भनेर मात्र व्याख्या गर्नु पर्याप्त हुँदैन। पार्टीभित्र र आन्दोलनभित्र भएका कमजोरीलाई स्वीकार गर्न सक्नुपर्छ।
निर्वाचनमा आएको धक्काका केही मुख्य कारण स्पष्ट देखिन्छन्। पहिलो, जनतासँगको प्रत्यक्ष सम्बन्ध कमजोर हुनु। पार्टीका नेता र कार्यकर्ता जनताको दैनिकी, पीडा र आवश्यकता भन्दा टाढा हुन थाले। दोस्रो, युवापुस्तासँग संवादको कमी। लाखौँ युवा विदेश गइरहेका छन्, रोजगारी, शिक्षा र अवसरको अभावले निराश छन्। उनीहरूलाई भविष्यको स्पष्ट आशा दिन नसक्दा नयाँ पुस्ता राजनीतिबाट टाढिन थाल्यो। तेस्रो, पार्टीभित्र अवसरवाद र गुटबन्दी बढ्नु। संगठनमा त्याग, अनुशासन र कार्यकर्ताको मूल्यभन्दा पहुँच र निकटताको आधारमा अवसर बाँडिन थालेको गुनासो बढ्दै गयो। चौथो, भ्रष्टाचार र सुशासनको विषयमा जनताको अपेक्षाअनुसार कठोर र विश्वसनीय व्यवहार देखाउन नसक्नु। जनताले कम्युनिस्ट आन्दोलनबाट इमानदारी र नैतिकता अपेक्षा गरेका थिए, तर व्यवहारमा त्यसको अनुभूति सधैँ हुन सकेन।
अब प्रश्न उठ्छ-के कम्युनिस्ट आन्दोलनको भविष्य समाप्त हुँदैछ ? नेपाली समाजमा समानता, सामाजिक न्याय, राष्ट्रियता र विकासको आवश्यकता जति छ, कम्युनिस्ट आन्दोलनको आवश्यकता पनि त्यति नै छ। तर त्यो आन्दोलनलाई समयअनुकूल, आत्मसमीक्षायुक्त र जनतासँग जोडिएको बनाउनु आवश्यक छ।
सबैभन्दा पहिले पार्टीले जनतासँगको सम्बन्ध पुनः बलियो बनाउनुपर्छ। पार्टी कार्यालयभन्दा बढी गाउँ, टोल, बस्ती र श्रम गर्ने जनताको बीचमा पुग्नुपर्छ। नेता र कार्यकर्ता जनताको दुःख–सुखमा सहभागी हुने, समस्या सुन्ने र समाधानका लागि पहल गर्ने संस्कारमा फर्किनुपर्छ। एमालेको वास्तविक शक्ति नारामा होइन, जनतासँगको सम्बन्धमा छ।
दोस्रो, युवालाई केन्द्रमा राखेर नयाँ कार्यक्रम ल्याउनुपर्छ। रोजगारी, उद्यम, कृषि, सूचना प्रविधि, शिक्षा र स्वरोजगारका क्षेत्रमा स्पष्ट र व्यावहारिक योजना बिना युवा पुस्तालाई आकर्षित गर्न सकिँदैन। पार्टीका संगठनमा पनि युवालाई केवल नाराबाजी गर्ने शक्ति होइन, नेतृत्व र नीति निर्माणमा सहभागी गराइनुपर्छ।
तेस्रो, पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनुपर्छ। आलोचना सुन्ने, फरक विचारलाई सम्मान गर्ने, नेतृत्व चयनलाई पारदर्शी बनाउने र गुटबन्दीभन्दा संगठनलाई माथि राख्ने संस्कार आवश्यक छ। पार्टी बलियो हुने आधार नेता होइन, विचार, संगठन र कार्यकर्ता हुन् भन्ने सत्यलाई व्यवहारमा लागू गर्नुपर्छ।
चौथो, भ्रष्टाचार र अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्छ। आफ्नै पार्टीका व्यक्ति भए पनि गलत काम गर्नेहरूलाई संरक्षण गर्नु हुँदैन। कम्युनिस्ट आन्दोलनको नैतिक शक्ति नै यसको सबैभन्दा ठूलो सम्पत्ति हो। त्यो नैतिकता हरायो भने आन्दोलनको आधार कमजोर हुन्छ।
पाँचौँ, विकास र राष्ट्रियताको एजेन्डालाई नयाँ ढङ्गले अघि बढाउनुपर्छ। देशमा उद्योग, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारको विकास गरी युवालाई देशमै अवसर सिर्जना गर्नुपर्छ। विदेशी प्रभाव र दबाबका बीच राष्ट्रिय स्वाभिमान जोगाउने, तर अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित र व्यावहारिक बनाउने नीति आवश्यक छ।
कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस केवल उत्सवको दिन होइन, आत्मसमीक्षाको अवसर पनि हो। विगतका संघर्ष र उपलब्धिबाट प्रेरणा लिने, कमजोरीलाई स्वीकार गर्ने र भविष्यका लागि नयाँ संकल्प गर्ने दिन हो। आन्दोलनले जितेका उपलब्धि साना छैनन्। तर जनताको विश्वास पुनः जित्नका लागि अब केवल इतिहासको स्मरण पर्याप्त हुँदैन। नयाँ सोच, नयाँ व्यवहार, नयाँ नेतृत्व शैली र जनतासँगको नयाँ सम्बन्ध आवश्यक छ।
यदि कम्युनिस्ट आन्दोलनले आफ्ना कमजोरी सच्याएर पुनः जनताको बीचमा फर्किन सक्छ भने, आजको धक्का भोलिको नयाँ सफलताको आधार बन्न सक्छ। ७७ वर्षको इतिहासले यही सिकाउँछ-यो आन्दोलन पटक–पटक खसेको छ, तर फेरि उठेको पनि छ। अब फेरि उठ्ने समय आएको छ।
(लेखक नेकपा एमालेका केन्द्रिय सदस्य तथा निवर्तमान ओएनएफ, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष हुनुहुन्छ)


