८ मंसिर २०८१, शनिबार 1732355916
Banner

बालेनले भने–आफूसंग कार्यकारिणी अधिकार हुँदा त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुदैन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरी अनधिकृत संरचना हटाएको प्रष्टीकरण दिएका छन्।

अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ले दिएको उनले बताएका छन्।  

‘कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुन्छ’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैँले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व हो।’

कानूनको अनुपालना गर्न ३५ दिनको सूचना दिँदा पनि अटेर गरेपछि गैरकानूनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न महानगरीय प्रहरी बलको परिचालन गर्नुपरेको उनले बताएका छन्।

नेपालको संविधान र कानूनले काठमाडौं महानगरपालिकालाई कानून बनाउने व्यवस्थापिकीय अधिकार, कानून कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार सुम्पिएको उनले स्मरण गराएका छन्।

‘कतिपयले अनधिकृत संरचना हटाउनु पूर्व न्यायिक निरुपणको पनि अपेक्षा गर्नु भएको रहेछ’, उनले लेखेका छन्, ‘गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारवाही गर्न न्याय निरुपण गरिन्छ।’

अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न अहिले मूलतः रोकथाम तथा नियन्त्रणसम्बन्धी कारबाहीको चरणमा रहेको उनले बताएका छन्।

‘अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाई रहन दिने छैनौँ, उनले भनेका छन्, ‘आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापना हुन्छ भन्नेमा हामी विश्वस्त छौँ।’

आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित नहुने साहले उल्लेख गरेका छन्। ‘कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रम विकसित भएका हुन्’, उनले आग्रह गरेका छन्, ‘न्यायिक निरुपण पछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।’