९ मंसिर २०८१, आइतबार 1732470987
Banner

कारबाहीमा परेका पुर्व प्रधानन्यायाधीश जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज बयान लिँदै छ । भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि आजलाई बोलाउने निर्णय गरेको थियो । बैठक बिहान ११ बजे बस्नेछ ।

समिति सदस्य लालबाबु पण्डितका अनुसार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । कार्यतालिकासमेत संशोधनसहित पारित गरिएको छ ।

जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको छ ।

यसैबीच, महाभियोग सिफारिस समितिले जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको थियो । संघीय संसदले भदौ १० गते सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी राणविरुद्ध कुनै प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको थियो ।

यता, सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई प्रमाण उपलब्ध गराएको छ ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले माग गरेबमोजिम एसोसिएसनको कार्यसमितिको बैठकले जबरालाई पदमुक्त गर्नुपर्ने आधार प्रमाणका रूपमा पेस गर्ने निर्णय गरेको छ ।