११ मंसिर २०८१, मंगलबार 1732609131
Banner

नेपालले जित्यो केन्याविरुद्धको एकदिवसीय शृंखला

काठमाडौं । नेपालले केन्याविरुद्धको दोस्रो एकदिवसीय खेलमा जित हात पारेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले केन्यालाई १७ रनले हराएको हो ।

२ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १३ रन मात्र बनाउन सक्यो ।केन्याका लागि रकिप पटेलले ८१ रनको अर्धशतकीय इनिङ खेले । कोलिन्स ओबुयाले ३७ रन जोड्दा नेल्सन ओधियाम्बोले २८ रन बनाए । नेपालका दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिए । करण केसी, आदील अन्सारी र पवन सर्राफले १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो ।नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । देव खनालले ३७ रन सोमपाल कामीले २६ रन, ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए ।

केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २र२ विकेट लिए । यस जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाबै २–० ले जितेको छ ।पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । अब नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ ।