कास्की। गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुदमार्फत खेलाडी छनोट गरेको हो । पोखराका विभिन्न स्थानमा साइक्लिङ प्रतियोगितामार्फत नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक शङ्कर भण्डारीले जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुदका लागि महिलातर्फ प्रदेशबाट ‘क्रसकन्ट्री’ विधामा कास्कीका हिमान्सु राई, सोफिया विक, सदीक्षा भण्डारी छनोट हुन सफल हुनुभयो । यसैगरी ‘रोड रेसमा’ निकिता परियार, बविता परियार, स्पर्श उदास र पवित्रा परियार छनोट हुँदा ‘डाउन हिल’तर्फ जमुना थापा छनोटमा पर्नुभएको छ । छनोट प्रतियोगितामा कास्कीबाहेक अन्य जिल्लाले साइक्लिङमा सहभागिता जनाएका थिएनन् ।
यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशबाट प्रतियोगिताको ‘क्रस कन्ट्री’ विधामा कास्कीका हिक्मत विक, स्याङ्जाका सन्दीप सुधौली, तनहुँका विनोद सापकोटा र कास्कीका अनिल विक छनोट हुनुभयो । ‘डाउन हिल’तर्फ कास्कीका अजय क्षेत्री र सुजन अधिकारी छनोट हुँदा ‘रोड रेस’तर्फ कास्कीका सुमित गुरुङ र सुवास लामा छनोट भएको संयोजक भण्डारीले जानकारी दिनुभयो ।
कास्कीबाट पुरुषतर्फको ‘क्रस कन्ट्री’मा हिक्मत विक, अनिल विक, आलोकश्री खड्का र अजित बराल, ‘डाउन हिल’तर्फ अजय क्षेत्री, सुजन अधिकारी र ‘रोड रेस’मा सुमित गुरुङ र सुवास लामा छनोट हुनुभएको छ । प्रतियोगिता क्रस कन्ट्री र रोड रेस पोखरा–१८ मेथलाङडाँडा र डाउन हिल पोखरा–२२ स्थित रानीवन–तितेपानी क्षेत्रमा सञ्चालन भएको थियो ।
नवौँ राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुँदैछ । प्रतियोगिताका लागि प्रदेशको छनोट खेल सम्पन्न भएका छन् भने खेलस्थलको अन्तिम टुङ्गो लगाउने काम भइरहेको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो ।
प्रतियोगिताको एक महिनाभन्दा अगावै खेलाडी छनोट सम्पन्न गरेको गण्डकीले नवौँमा राम्रो नतिजाका लागि असोज १ देखि बन्द प्रशिक्षण सञ्चालन गर्न लागेको छ । छनोट हुन सफल खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने प्रदेशले जनाएको छ ।