काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल आज राति १२ बजेबाट सकिँदै छ । मन्त्रिपरिषद्ले कार्यकालको ११औँ अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपतिलाई सिफारिस गरिसकेपछि आजरातिबाट कार्यकाल सकिने भएको हो । शनिबार राति १२ बजेबाट बर्खे अधिवेशनको अन्त्यसँगै प्रतिनिधिसभा निष्क्रिय हुनेछ । सरकारले आजराति १२ बजेदेखि संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा विदाइ सम्बोधन राखेका छन् ।
सदन सकिएलगत्तै सांसदहरू चुनावमा केन्द्रित हुनेछन्। प्रतिनिधिसभा निष्क्रिय भएसँगै २३ विधेयक पनि निष्क्रिय भएका छन्।
०७४ मंसिर १० र २१ मा निर्वाचन भएर फागुन २१ मा कार्य प्रारम्भ गरेको संघीय संसद्ले यो कार्यकालमा १५३ विधेयक दर्ता भएकोमा नागरिकतासहित १०२ कानुन बनाएको छ।
एमाले र माओवादीको वामगठबन्धनबाट दुईतिहाइ समीकरणमा सुरुवात भएको प्रतिनिधिसभाको कार्यकाल भने उतारचढावपूर्ण रह्यो ।