९ मंसिर २०८१, आइतबार 1732432284
Banner

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च जान गठबन्धनलाई कानुन व्यवसायीको सुझाव

काठमाडौँ– कानुन व्यवसायीहरूले नागरिकता विधेयकको प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकोले सर्वोच्च अदालत जान गठबन्धनका नेताहरूलाई सुझाव दिएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनले कानुन व्यवसायीहरूलाई बोलाएको थियो । बैठकमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण कुमार श्रेष्ठ लगायतले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै त्यसविरुद्ध सर्वोच्च जान नेताहरूलाई सुझाव दिएका हुन् ।

राष्ट्रपतिलाई संविधानले दिएको जिम्मेवारी पूरा नगरेको उनीहरूको भनाइ थियो । छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै अधिवक्ता पदमबहादुर रोकायाले दोस्रो पटक शीतल निवास पुगेको विधेयकलाई इन्कार गर्न नमिल्ने बताउनुभयो ।

‘संसद्‌बाट विधेयक पारित गरेर पठाइसकेपछि एक पटकलाई पुनर्विचारको लागि पठाउन सकिने छ । संसद्‌ले त्यसलाई फेरि राष्ट्रपतिलाई पठाइसकेपछि त्यो विधेयकलाई इन्कार गर्ने, आफ्नो खल्तीमा राख्ने, त्यसलाई प्रमाणीकरण नगरीकन बस्ने प्रकारको अधिकार संविधानले दिएको छैन ।’ उहाँले संविधानभन्दा बाहिर कोही पनि जान नपाउने बताउनुभयो ।

संविधानले तोकेको १५ दिनमा विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिबाट संविधान उल्लंघन भएको ऊनीहरूको भनाइ थियो ।