२३ कार्तिक २०८१, शुक्रबार 1731056013
Banner

कांग्रेसभित्र ठूलो विद्रोह गर्ने बेला आयो : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको बताउनु भएको छ ।

समानुपातिक निर्वाचनको बन्दसूची सच्याउन बेलुका पाँच बजेसम्म शेखर पक्षले देउवापक्षलाई अल्टिमेटम दिएको बेला महामन्त्री थापाले यस्तो बताउनु भएको हो ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठीक ठाउँमा पुर्‍याउनुपर्ने बेला आएको छ । नभए त पार्टी त केवल सत्ताको हतियारमात्र हुनेभयो ।  केको लागि पार्टी बनाएको भन्दा त चुनाव जित्नमात्रै भयो ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालालाई पेलेर एकपक्षीय निर्णय गर्दै अघि बढेको सन्दर्भमा थापाले सार्वजनिक रुपमा कडा अभिव्यक्ति दिनु भएको हाे ।

चौधौँ महाधिवेशनमा डा. कोइराला प्यानलबाटै महामन्त्रीमा निर्वाचित थापाले पार्टीमा ठूलो असन्तुष्टि रहेको पनि बताउनु भयो । नेता थापाले अहिलेको संसदीय व्यवस्था चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्दै गएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिलेको संसदीय व्यवस्था चुनावदेखि चुनावसम्मको गोलचक्करमा फसेको छ। चुनाव लड्ने र सत्तामा पुग्ने होडले पार्टीहरु पार्टी जस्ता रहेनन् । नेपाली कांग्रेस जुन उद्देश्यका साथ स्थापना भएको हो। त्यो उद्देश्यकासाथ अघि बढ्न सकेन। यो चिन्ताजनक अवस्था हो।’