८ मंसिर २०८१, शनिबार 1732358996
Banner

घनश्याम भुसाल : रत्यौली खेल्न नपाएकामा चिन्तित

प्रा. डा.बद्रीविशाल पोखरेल

सभासद्को टिकट नपाएपछि घनश्याम भुसालले एमाले पार्टी परित्याग गर्ने घोषणा गरेछन् । पछिल्लो अवधिमा उनले एमाले पार्टीको नेता भएर कहिले पो काम गरेका थिए र । विकासका नाममा फासीवाद आउँछ (नेपाल राष्ट्रिय साप्ताहिक आइतवार २०७५ साल पृ.२०—२२ ) भनेर ओली सरकारका बहुआयामिक विकास निर्माण विरुद्ध जेहाद छेड्ने घनश्याम भुसाल नै हुन् । जबजको च्याप्टर क्लोज गर्छु भनेर नेपाली विशेषताको समाजवादको स्पष्ट रुपरेखा कार्ने गर्ने सिद्धान्त विरुद्ध सुनियोजित प्रहार गर्ने पनि उनै हुन् । जबज र जननेता मदन भण्डारीकै मार्गदर्शन र प्रकाशमा कम्युनिस्ट तथा लोकतान्त्रिक उपलब्धिलाई पटक्क नदेख्ने उनी आफूलाई आफैँ मदन भन्दा महान् नेता ठान्छन् ।

गौरवशाली पार्टीको पहिले कहिल्यै नभएको विशाल जनसहभागिताको दसौँ ऐतिहासिक महाधिवेशनलाई सौराहा काण्ड भनेर आम कार्यकर्ताको हुर्मत लिने भुसाल नै हुन् । यो महाधिवेशनलाई काण्ड भनेर सुनकाण्डसित तुलना गर्ने भुसाल एमाले नेता हुन् र थिए र ? चरम अनुशासनहीन कर्म गर्ने अनि कार्यवाहीको डरले डाँडोखोलो हल्लाउने यिनै भुसाल हुन् । ओलीका कारण नेपालको बाम आन्दोलन क्षतविक्षत हुन्छ भनेर पार्टी विरुद्ध प्रलाप गर्र्ने पनि भुसाल हुन् । अब सभासद्को टिकट नपाएपछि यत्ति जावो विषयमा पार्टी परित्याग गर्ने भुसाल कति स्वार्थी रहेछन् भन्ने स्पष्ट हुन्छ । त्यसैले पार्टीका माथिल्लो तहमा र सभासद् भएर पार्टीका औपचारिक फारेममा बसेर अब रत्यौली खेल्न नपाइने चिन्ता, छटपटी र व्यग्रताका कारण भुसालले पार्टी परित्याग गरेको स्पष्ट हुन्छ । भुसालको जस्तो चरम अनशासनहीन तथा अराजक गतिविधि कम्युनिस्ट पार्टीमा अहिलेसम्म कसैले गरेको यस लेखकलाई थाहा छैन । क्षय रोगको उपचार बेलैमा गर्नुपर्छ नत्र त्यसको महामारी फैलिने भय हुन्छ ।

महँगा लुगामा सजिएर सभ्य भइन्न । नीति र नैतिकताको भाषण गरेर मात्र नैतिक भइन्न । अनुशासन भनेको जीवनको लय हो । लय भत्केपछि जीवन जीवन रहँदैन । अनुशासन अरुका लागि होइन आफ्नै लागि हो । मानिसलाई नरपशु भनिन्छ । पशु चारखुट्टे जनावर हो । यसको कहिल्यै बुद्धि र विवेक कहिल्यै पलाउँदैन । तर नरपशु वा मान्छेको ढिलोचाँडो बुद्धि र विवेक पलाउँछ ,पलाएन भने नरपशु पनि भइन्न । ठूलाठूला नेताले चाहिँ अनुशासन मान्नु पर्दैन भन्ने होइन होला । हामी कस्तो चिन्तन र चरित्र बनाउन खोजिरहेका छौँ । पार्टी र एउटा आस्थाको घर हो , यो पारिवारिक घर जस्तै न हो पार्टी । अनि पार्टीको जरो किलो उखेल्न खोज्ने नेतालाई कसरी दूधभात खुवाएर पाल्नु ? ओलीले मातहत नेता र कार्यकर्तासित के रिस र इबी साध्नु यो सोच्ने र सुहाउने तथा गर्ने कुरै होइन । तर थोरै भए पनि बिस्टा त बिस्टा नै हो । हटाउनै पर्छ र सफा गर्नैपर्छ । सामान्य सूर्यले ताराको के रिस गर्नु,जूनले जुनकिरीको के रिस गर्नु,समीको रुखले पोथ्रालाई किन हेप्नु, तर सकेसम्म औषधी उपचार गर्दा पनि पार नलागेपछि अरु उपाय के गर्नु ।

बुद्धि सिङजुरो जस्तो पलाउँदैन । ६० वर्षमा पनि नपलाएको बुद्धि अब पलाउँदैन । प्रसिद्ध गीतकार कालिप्रसाद रिजाल पढ्न भनेर बालख कालमै लामो समय सम्म बुबाआमासित अलग रहेर धरानमा बस्नुको पीडा अचेतन तहमा बसेछ । यही कारण आफ्ना गीतका दुःख र विरहका भावनाहरु अभिव्यक्त हुन्छन् भन्नु भएको थियो । आँखा छापी नरोउँ भने ….गीत रचनाको सन्दर्भमाा रिजाल उक्त कुरा बताउँदै हुनुहुन्थ्यो । यस्तै यस्तै अनेक खालका बाल मनौवैज्ञानिक,जातिगत आदि हीनताग्रन्थी जनित जटिलता ग्रस्त अवस्था हो भने यसको उपचार गर्नुपर्छ । तर रोगीले यो रोग छ भन्नुप¥यो । यसको पनि पार्टीमा उपचार गर्न सकिन्छ तर मधौरुले माड चाहिँ खानुपर्छ । एमाले स्थायी समिति सदस्य भुसालले एक मिडियामा प्रायोजित अन्तर्वार्ता प्रकाशित भएको देखियो । त्यसमा भुसालले पार्टीमा आफूले कुनै गल्ती नगरेको र गल्ती स्वीकार गर्ने कुनै कारण नै छैन । पार्टी अध्यक्षले विवेक राखेर मलाई प्रतिनिधि सभाका लागि टिकट दिनुपर्छ भनेका रहेछन् । उनले मैलै के गरेँ र माफ माग्नु पर्ने र कोसित माफी माग्नु पर्ने भनेको देख्दा भुसालका हजार गल्ती यस लेखकले टिपोट गरेको छ ।

भुसालजस्ता नेताहरु सही मार्गमा हिडून् भनेरै दर्जनौँ लेख र टिप्पणी मैले लेखेको छु । तर जति लेखे पनि खासै गतिमतिमा सुधार आएको जस्तो लागेको छैन । माओले भनेझैँ तीखो आलोचना गर्दा पनि भएन तर बाहिर देखिने गरी परिवर्तन आएको छैन तर भित्र भित्र भने भुसालको मन अमिलो चाहिँ भएकै छ , मानिसले अरुलाई ढाँट्छ तर आफूलाई ढाँट्न सक्तैन । बाहिर बाहिर नखरा गर्छ तर दिलले गल्तीलाई गल्ती नै भन्छ । जनता इतिहासका निर्माता भनेझैँ यो एमाले पार्टीका निर्माता कार्यकर्ता र जनता हुन् । जब सम्म ती कार्यकर्ता चनाखो हाँदैनन्,तब सम्म भुसाल जस्ता नेताका भनौरी र भ्रममा परिरहन्छन् । जब चेत फिर्छ तब समाप्त भैसकेको हुन्छ ।

कुर्नै पनि नेता प्रति आग्रह दुराग्रह नराखी मूल्याङ्कन गर्ने क्षमता कार्यकर्तामा हुँदैन तबसम्म पार्टीमा बेलबेला रत्यौली खेल्ने नेता जन्मिइरहन्छन् । यो कुरा बुझेर केही उपल्ला नेताहरुलाई यस लेखकले प्रत्यक्ष खरो टेलिफान संवाद नै गरेको छ । र राज्यसत्ता नै हात लाग्ने अवस्था छ, इमान्दार रुपमा काम गर्ने हो भने अहिले नभए भोलिका दिनमा अवश्य मौका आउँछ । अलिकति धैर्य नगर्ने बानी धेरै नेतामा देखिन्छ । तातै खाउँ जल्दी मरुँ भन्ने भएपछि व्यक्तिको हित हुन्छ तर देश र जनताको हित हुँदैन । तैपनि तमाम नेतालाई शुभलाभका अवसर दिने अवस्था हुँदैन । पार्टीले जजसलाई जे जति सुविधा प्रदान गरेको छ त्यसको गुन सम्झिने नेता कम छन् अझ स्रष्टा नामका केही व्यक्तिहरु त चरम सरमलाग्दा बेहोेराका देखिन्छन् । नेताले अपराध गरिरहेको छ तर चुपचाप बस्छ । फेरि भोलि कुनै अवसर पाइन्छ कि भनेर झिँगाझैँ भन्किन्छ । समाजको गुणात्मक रुपान्तरणमा सहयोग पुग्ने गरी लेख्तैन बोल्दैन तैपनि आफूलाई अब्बल दर्जाको प्रगतिशील भन्छ ।

सिद्धान्तनिष्ठ देश र जनताको हित रक्षाका लागि प्रतिवद्ध पार्टी पङित तयार हुनु अपरिहार्य हुन्छ । पार्टीलाई क्षय रोग व्याप्त भएको पार्टी अध्यक्षले टुलुटुलु हेरेर बस्न मिल्दैन । एउटा औलामा लागेको रोग त्यही औँलामा चिरफार र मह्लम पट्टि गर्र्नै पर्छ । संसदीय फाँट भन्दा पार्टीको जिम्मेवारी कम होइन तर अहिले टिकट पाइएन भनेर आक्रोष र आवेशमा पार्टी परित्याग गर्ने कुरा सामान्य होइन । पञ्चयतसित त झुकिएन माफ मागिएन भने ओली को हो भनेझैँ नेता नेता हुन्छ । चरम अराजकता र अनुशासनहीन काम आफैँ गर्ने अनिउल्टो आफैँ सिङजुरो हल्लाएर होक्काँ गर्न सुहाउँछ ? रत्यौली खेल्ने पनि सीमा हुँदाहो । जात्राको पनि एउटा अनशासन होला तर कहीँ नभएको जात्रा एमालेमा नै हुने हो र गर्न दिने हो भने यो पार्टी होइन धर्मशाला हुन्छ । यसरी धर्मशाला बनाउने जो कोही नेता एमाले नेता हुनसक्तैन र हुनु पनि हुँदैन । पार्टीले जे जे जुन जुन अवसर दिए पनि रत्यौली नै खेल्ने जस्तो स्थिति देखियो । भुसाललाई अब पार्टीका औपचारिक फोरममा भाइरल हुने गरी रत्र्यौली खेल्न नपाउने चिन्ताले सताएर राजिनामा दिएको हो के भनेर सम्झाउन सकिन्छ र ?
(लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभाग प्रमुख हुनुहुन्छ ।)