८ मंसिर २०८१, शनिबार 1732385755
Banner

देशैभर उम्मेदवार मनोनयनपत्र दर्ता सुरु

काठमाडौं-मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको हो ।

आयोगका अनुसार उम्मेदवारी दर्ता गराउन जाँदा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता छ । आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । यसका लागि आयोगले आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको छ ।

आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेसमेत असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपराह्त ३ बजेसम्म, मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपराह्न ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।

यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते अपराह्न ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।