१२ मंसिर २०८१, बुधबार 1732706035
खेलकुद

आईटीएफ तेक्वान्दोमा आर्मी र बागमतीले स्वर्ण थपे

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको आज भएको पछिल्लो खेलमा विभागीय टिम नेपाल आर्मी र बागमती प्रदेशले स्वर्ण पदक थपेको छ । पुरुष टिम प्याट्रनमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।

पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ नेपाल आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आज भएका खेलमा आर्मीले तीन र बागमतीले दुई स्वर्ण हासिल गरेको थियो । प्रतियोगितको पहिलो दिन शनिबार भएका प्रतिस्पर्धामा पनि आर्मीले तीन स्वर्णसहित वर्चश्व कायम गरेको थियो । अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याट्रनबाट एउटा मात्र स्वर्ण जित्न सफल भएको छ । स्पाइरिङतर्फ (४५–५०) उमेर समूहको पहिलो खेल आज सुरु भए पनि समय नपुगेका कारण सेमिफाइनलमा पुगेर रोकिएको छ । सोमबार बिहान गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच फाइनल प्रतिस्पर्धा हुने नेपाल आईटीएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

शनिबारदेखि बागलुङमा सुरु भएको आईटीएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेल भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आईटीएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धामा छन् ।