ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण गर्नका लागि आधारशिविरमा आरोहण टोली पुगेको छ । विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो ।
कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको तीन वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण (सात हजार सात सय १० मिटर उचाइ) हिमाल आरोहण गर्न चार अमेरिकी नागरिकसहित टोलीले तयारी गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ । परिषद् कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाका अनुसार तीन सातादेखि हिमाल आरोहण गर्ने योजनाका साथ तयारी भइरहेको छ । आरोहणका लागि बाटो बनाउने तथा आवश्यक सामग्री ओसार्ने काम भइरहेको शेर्पाले बताउनुभयो ।
आरोही टोली घुन्सादेखि खम्बाचेन र कुम्भकर्ण आधार शिविर हुँदै हिमाल आरोहणमा पुगेको शेर्पाले जानकारी दिनुभयो । फक्ताङ्लुङ–६ लेलेपको घुन्सालाई कुम्भकर्ण तथा कञ्चनजङ्घा हिमाल प्रवेशद्वारका रूपमा लिने गरिएको छ । गत वर्ष दुई अमेरिकी नागरिक कुम्भकर्ण हिमाल आरोहण गर्न करिब एक महिना कुम्भकर्ण हिमालको आधार शिविरमा बसेका थिए । तर मौसम प्रतिकूलका कारण आरोहण सफल हुन सकेन । चार अमेरिकी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ । पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यका अनुसार पाँचजनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएबापत रु एक लाख ७६ हजार रोयल्टी रकमसमेत सङ्कलन भएको छ । विभागका अनुसार तीन वर्षयता अर्थात कोरोना महामारी सुरु भएपछि कुम्भकर्ण हिमाल आरोहणका लागि कसैले पनि अनुमति लिएका थिएनन् । तथ्याङ्कअनुसार विसं २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक सो हिमालको सफल आरोहण गरेका थिए ।