१ मंसिर २०८१, शनिबार 1731804183
Banner

यमपञ्चकको दोस्रो दिन आज काग तिहार

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चीजबिज खान दिएर मनाईदैछ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा मीठा खान दिई खुसी पार्ने गरिएको उहाँले बताउनुभयो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ ।

तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाईपूजा कात्तिक ८ गते मङ्गलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।

भाइटीका कात्तिक १० गते ११ : ३७ बजे उत्तम साइत

कात्तिक १० गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ : ३७ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाउनुभयो । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ ।

राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक १० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।