७ जेष्ठ २०८३, बिहिबार 1779382573
Banner

न्युरोडमा व्यापारीले बनाएको झिलिमिली महानगरले हटायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा तिहारका लागि सजाइएको माला र गेट हटाएको छ । आइतबार बिहान महानगर प्रहरीले न्यूरोड क्षेत्रको सुन पसल, मिठाइ पसलमा सजावटको लागि बनाएको गेटसहित सजावट सामग्री हटाएको हो । काठमाडौं महानगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले फुटपाथमा पैदलयात्रुलाई हिंड्न असर हुने गरी निर्माण भएको संरचना महानगरले हटाएको जानकारी दिए ।

‘न्यूरोडका सुन व्यवसायीले बाहिर फलामका डण्डीको पुत्लासहित बनाएर, गेटले पनि हिंड्ने मान्छेलाई असहज हुनेगरी राखेपछि हामीले हटाएका छौं,’ पाण्डेले भने, ‘चाडपर्वको बेला भीडभाड धेरै हुन्छ, यस्तै बेला अनि पसलेहरुले पसलभन्दा बाहिर संरचना बनाएपछि अरुलाई असर पर्ने भएकोले हटाएको हो ।’

महानगर प्रहरीले पसल बाहिरको मात्रै संरचना हटाएको भने पनि न्यूरोड क्षेत्रका व्यापारीले भने भित्तामा झुण्ड्याएको माला, सजावट समेत हटाएको दाबी गरेका छन् ।