३० कार्तिक २०८१, शुक्रबार 1731687661
Banner

गठबन्धनलाई हराउने हो, लिङ्देनलाई जिताउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको इज्जतका लागि पनि झापा–३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताउनुभएको छ । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राप्रपा अध्यक्ष लिङ्देनका लागि भोट माग्नुभयो ।

‘एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ’ हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो’ ओलीले भन्नुभयो ।

उहाँले एमालेले समर्थन गरेका सबै उम्मेदवारले यसपटक जित्ने बताउनुभयो । एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने बताउनुभयो । ‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देन मात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ,जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बने पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने दावी गर्नुभयो । ‘कांग्रेस राष्ट्रिय पार्टी रहने भयो, यसपल्टको हकमा माओवादी पनि राष्ट्रिय पार्टी बन्छ । माधव नेपालहरुले पनि एउटा पार्टी खोलेका छन्, त्यसको कन्तबिजोग हुन्छ, के को राष्ट्रिय पार्टी ?’