३० कार्तिक २०८१, शुक्रबार 1731656440
Banner

ईश्वर पोखरेलको सचिवालयले भन्यो–प्रदीप पौडेलले गिरोह शैली देखाए (विज्ञप्तिसहित)

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ५ को नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अराजनीतिक शैली देखाएको भन्दै नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार रहेको उक्त क्षेत्रमा पौडेलले अनर्गल र झुटो प्रचार गरेको भन्दै त्यसो नगर्न एमालेले आग्रह गरेको हो ।
राजनीतिक प्रतिस्पर्धा गर्न नसकेपछि गिरोह शैलीमा अनर्गल प्रचारमा उत्रिएको भन्दै एमालेले खुला छलफल र बहसमा आउन चुनौती दिएको हो ।
एमाले क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन उम्मेदवारले आफ्ना एजेण्डा प्रस्तुत गर्नुको साटो गिरोह शैलीमा प्रतिस्पर्धी उम्मेदवारविरुद्ध भ्रमपूर्ण, अप्रमाणिक र कहिल्यै प्रमाणित हुन नसक्ने निकृष्ट लाञ्छनायुक्त अभिव्यक्ति दिइरहेको उल्लेख गरेकी छिन् ।

कतै अभियोजन नभएका र कहिल्यै प्रमाणित हुन नसक्ने निकृष्ट लाञ्छानाको खेती बन्द गर्न र राजनीतिकरूपमा प्रस्तुत हुन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ–हामी विकास, समृद्धि तथा योजना र संकल्पका बारेमा आफ्ना मुद्दामा खुला छलफल र बहस गर्न सदैव तत्पर छौं ।
पौडेलले राजनीतिक प्रतिस्पर्धा गर्न नसकेर फेक आईडीहरूमार्फत पोखरेलको चरित्रहत्या गराएको एमालेको आरोप छ । पौडेलले पराजित मानसिकता देखाएको विज्ञप्तिमा उल्लेख छ । राजनीतिक संस्कार भएका युवा नेता भनेर चिनिएका पौडेलले चुनावका बेला प्रतिस्पर्धीलाई प्रमाणित नभएका आरोप लगाउन थालेपछि उनी आलोचित बन्दै गएका छन् ।