लोकतान्त्रिक गणतन्त्रमा पार्टी बनाउन, पार्टीका विचार र नीतिहरू जनताका समक्ष बताउने अनि चुनावमा उम्मेदवारहरू उठाउने संवैधानिक स्वतन्त्रता हरेक व्यक्तिले प्राप्त गरेको हुन्छ। पार्टीका विचार र नीतिहरूको खुला रूपमा पैरवी गर्न पनि पाईंन्छ। तर देश र जनताको पक्षमा पार्टीको राजनीतिक विचार, नीति र दृष्टिकोणहरूले कसरी काम गर्न सक्छ, त्यो पनि भन्नैपर्छ। अहिले राजनीतिक विचार, नीति र दृष्टिकोणको कुनै टुंगो नभएकाहरू एकाथरी एकोहोरो पुरानो भन्नेलाई नराम्रो अनि नयाँ मात्रै राम्रो भनेर जनमन भ्रमित बनाउने प्रयास गर्दैछन् भने अर्काथरी प्रतिगमन भो भन्दै राज्य सत्ताको प्रयोग गरेर देश, जनता र लोकतन्त्रका विरूद्ध गतिविधिहरू गरिरहेका छन्।
नयाँप्रति प्रश्न गर्दै समा थापा लेख्छिन्, “युवा हुँ, यति कमाउँछु, त्यो जागिर थियो, फलानाले लुटे मात्र होइन, तपाईं के गर्नुहुन्छ ? कसरी परिवर्तन ल्याउने कोशिश गर्नुहुन्छ त्यो सुनाउनुहोस् के!”
राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गरेर नियन्त्रित अस्थिरता बढाउने बाह्यशक्तिको स्वार्थमा राजनीति गर्नेहरू भिन्न रूपमा सक्रिय छन्। कोही हामी मिलेर आएका छौं भनेर कम्फर्टेबल गठबन्धन बनाएका छन् भने कोही हामी नयाँ र स्वतन्त्र भन्दै स्टन्ट गर्दैछन्। दुबै पक्षको उद्देश्य नेपालमा नियन्त्रित अस्थिरता बढाउने नै देखिन्छ ! त्यसैले चुनावको मिति जति-जति नजिकिदै छ, तिनिहरूले उति-उति नेकपा एमालेका विरूद्ध प्रहार बढाएका मात्र छैनन् जनमन भ्रमित बनाउने अभियान नै चलाएका छन्। यसबाट हामीले बुझ्नुपर्छ, देश र जनता विरोधीहरू एकजुट भएर नेकपा एमाले र एमालेका अध्यक्ष केपी ओलीका विरूद्ध अघोषित समिकरण बनाएर बलियो देखिन खोज्दैछन्। सामाजिक सञ्जालमा विज्ञ भन्नेहरू पनि त्यसरी नै सक्रिय भइरहेका छन्।
भ्रम र वैचारिक अस्पष्टता लोकतन्त्रका लागि सधैं खतरनाक हुन्छ। हिजोआज केही राजनीतिक दल र व्यक्तिहरूले त्यही भ्रम र वैचारिक अस्पष्टताको साहारा लिएर चुनाव जित्ने योजना बनाएका छन्। त्यतिले पनि नपुगेर संघातिक हमला पनि गर्दैछन्। उनीहरूसँग न देश सम्वृद्ध बनाउने भिजन छ न त कुनै मिसन नै। त्यसैले त उनीहरू गठबन्धनबाट मै हुँ प्रधानमन्त्री भन्दैछन्। मै हुँ प्रधानमन्त्री भनेहरूमा शेरबहादुर देउवा, प्रचण्ड, रामचन्द्र पौडेल, शेखर कोइराला, गगन थापादेखि लिएर माधव नेपाल पनि देखिएका छन्। ‘छोरो पाउनु कहिले भोटो सिउनु अहिले’ भनेको यहि त होला। यति धेरै प्रधानमन्त्रीको उम्मेदवार हुनु भनेको अस्थिरता पक्का हो, यसर्थ अस्थिरताको जड गठबन्धनलाई हराऔं ! किनभने उनीहरूसँग समृद्ध नेपाल र सुखी नेपाली बनाउने कुनै राजनीतिक तथा आर्थिक एजेण्डा नै छैन।
२१ औं शताब्दी सुहाउँदो सम्वृद्ध र कल्याणकारी राज्य बनाउने होभने सोअनुसारको विचार नीति र राजनीति पनि चिन्न सक्नुपर्छ। हामी चुनावको सम्मुखमा छौं, कस्तो विचार नीति र राजनीतिलाई जिताउँदा सम्वृद्ध देश र सुखी नेपाली बनाउन सकिन्छरु हामीसँग उत्तर हुनुपर्छ र देशको पक्षमा क्रियाशील राजनीतिलाई चिन्ने र रोज्ने क्षमता देखाएर दलाल पुजिंवादले छरेको भ्रमहरूबाट जोगिनुपर्छ र आमजनतालाई पनि जोगाउनु पर्छ। लोकतान्त्रिक गणतन्त्र र बहुदलीय व्यवस्थामा दलहरू प्रधान हुन्छन्। दलहरूमा नीति र नेतृत्व प्रधान हुन्छ, नेतृत्वको चरित्र र नैतिकता बिशेष हुन्छ। तर अहिले सञ्चार माध्यमदेखि सामाजिक सञ्जालहरूमा नीति र नेतृत्व नभएको दल अनि नैतिकता र चरित्र नभएका पात्रलाई राम्रो देखाउने प्रयास भइरहेको छ। एउटै उद्देश्य जनतालाई भ्रमित बनाएर चुनाव जित्ने र त्रिशंकु संसद बनाएर नेपालमा नियन्त्रित अस्थिरता बढाउने।
अहिले बेथितिको अन्त्य गर्छौं भन्दै झन बेथित बढाउने प्रकृतिका कामहरू भइरहेका छन्। मजाकको पनि हद हुन्छ नी ! हिजो रहरले देश त्यागेर विदशी बनेको पात्रले बाध्यताले विदेशी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएको छ, छोराछोरीहरूको बिचल्ली बनाएको छ। उसले नै आज म नेपाली हुँ र बेथितिको अन्त्य गर्छुभन्दा अलि नसुहाउने रहेछ। तर पनि त्यही पात्रलाई भगवान भन्दै केही बुद्धिजीवीहरू जनताको मनोविज्ञान भ्रमित बनाएर त्रिशंकु संसद बनाउन सघाउने र नेपालमा नियन्त्रित अस्थिरता बढाउने उद्देश्यका साथ राजनीतिक विश्लेषण गरिरहेका छन्। जबसम्म यो खालको चिन्तन र व्यवहारले प्राथमिकता पाईरहन्छ, तबसम्म नेपालको राजनीति वैचारिक र व्यावहारिक बनाउन धेरै कसरत गर्नुपर्ने भइरहन्छ।
यतिखेर हामी चुनावको सम्मुखमा छौं, अहिले भ्रम, प्रभाव र प्रलोभनबाट मुक्त भएर उपलब्ध विकल्पमध्ये राम्रो विकल्प छानेर त्रिशंकु संसद बन्न नदिने ढंगले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएको छ। यो निर्वाचन एउटा दल वा उम्मेदवारले हार्ने र अर्को दल वा उम्मेदवारले जित्नेसँग मात्र सिमित छैन्। भोलिको नेपाल कस्तो बनाउने र कस्तो राजनीतिमार्फत शासित हुने भन्ने मुद्दा र चिन्तनसँग पनि सम्बन्धित छ। कम्फर्टेबल गठबनधनमा रहेका दलहरू मध्येबाट कुनै एक दलले बहुमत ल्याउने अवस्था नै छैन्, अनि नयाँ पार्टी र स्वतन्त्रहरूले बहुमत ल्याउने कुनै राजनीतिक आधार देखिदैन्। यी दुबै पक्षको भूमिकाले त्रिशंकु संसद् बनाउने र राजनीतिक अस्थिरता सिर्जना गरेर नियन्त्रित अस्थिरता बढाउन नै सहयोगी हुने निष्कर्षमा पुग्न सकिन्छ। त्यसैले अब मतदान गर्दा हामीसँग अर्को एउटा विकल्प नेकपा एमालेमात्र बाँकी रहेको छ। त्यसैले यी तीन पक्ष वा विकल्पमध्ये कुन विकल्पलाई मत दिंदा त्यसले राष्ट्रिय स्वार्थ बलियो बनाउँछरु हामीले मतदान गर्नुभन्दा अघि उत्तर खोज्नु पर्नेछ।
नेपालको राजनीतिलाई अस्थिर र भद्रगोल बनाउने प्रयास २००७ सालदेखि भइरहेको छ। बलियो राजनीतिक शक्ति र नेतृत्वका विरूद्ध कमजोरहरूको मोर्चा बनाएर नेपालमा नियन्त्रित अस्थिरता कायम राख्न दक्षिणको प्रत्यक्ष संलग्नतासँगै पश्चिमको सक्रियता पनि बढेको छ। नेपालको राजनीतिमा दक्षिणको प्रत्यक्ष संलग्नता र पश्चिमको सक्रियतालाई कमजोर बनाउन र रोक्न उत्तरले सरोकार पनि बढाएको छ। हामीले बुझ्नुपर्छ, दक्षिणको प्रत्यक्ष संलग्नता, पश्चिमको सक्रियता र उत्तरको सरोकार बढ्नु भनेको नेपालको राष्ट्रिय स्वार्थ कमजोर हुनु हो।
त्यसैले “आगामी मंसिर ४ मा हामीले हाम्रो मताधिकार प्रयोग गर्दा देशको सार्वभौमिकता बचाउने, राष्ट्रिय स्वार्थ बलियो र देश सम्वृद्ध बनाउने आधार देख्नुपर्छ।” भोलि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय अतिक्रमणबाट फिर्ता गर्नुछ, जनसांख्यिक राजनीतिमार्फत नेपालमा आफ्नो प्रभाव विस्तार गर्न चाहनेहरूको स्वार्थ कमजोर बनाउने र नेपालीले मात्र नागरिकता पाउने गरी नयाँ नागरिकता विधेयक ल्याउनु छ, अंसलग्न तथा सन्तुलित परराष्ट्र नीतिमार्फत सबै देशसँगको सम्बन्ध सुमधुर बनाउनु छ, नागरिक निर्यात गरेर वस्तु आयात गर्न प्रोत्साहित गर्ने आर्थिक नीति बदल्नु छ, विदेश पलायन हुन सिकाउने शिक्षा तथा सामाजिक व्यवस्थामा आमूल परिवर्तन गर्नुछ, भाषिक, सांस्कृतिक र धार्मिक अतिक्रमण रोक्नुछ अनि हरेक नागरिकलाई देशभित्रै श्रम र उत्पादनसँग जोड्नु छ। यी सबै काम गर्ने वैचारिक, राजनीतिक र कार्यक्रमिक रूपमा स्पष्ट र प्रतिबद्ध दल कुन हो, हामीले चिन्न सक्नुपर्छ।
आज क्रियाशील दलहरू मध्ये राजनीतिमा अरू दल र नेताभन्दा नेकपा एमाले र त्यसको नेतृत्व तुलनात्मक रूपमा बढी देश बनाउने खाकाप्रति बढी स्पष्ट र प्रतिबद्ध भएको घोषणा पत्रले देखाउँछ। यसर्थ कुनै भ्रम, प्रभाव र प्रलोभनमा नपरौं ! राष्ट्रिय स्वार्थ बलियो हुनेगरी आफ्नो मताधिकार प्रयोग गरौं। किनभने नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय स्वार्थ बलियो बनाउने र हाम्रा अपेक्षाहरू सम्बोधन गर्ने विश्वास र संकल्प भएको हामीले पाउँछौं। त्यसैले आगामी चुनाव मंसिर ४ मा नेकपा एमालेलाई स्पष्ट बहुमतको सरकार बनाउने गरी जनादेश दिनुपर्ने कुरा हामीले स्विकार्नु पर्ने भएको छ।
अन्तमा यो लेखकको तर्फबाट विशेष र विनम्र अनुरोध छ। शान्त, सचेत र स्थिर हौं ! विचारमा भएको गतिशीलता र राष्ट्रिय आवश्यकतालाई बुझौं। हाम्रा अपेक्षाहरू रातारात सम्बोधन हुने होइनन्, समयअनुसार प्राथमिकताका आधारमा सम्बोधन हुनेछ। यसर्थ अहिले हाम्रा अपेक्षाहरू सम्बोधन गर्ने आधार बनाउने बेला भएको छ। राजनीति जनता र राष्ट्रको पक्षमा हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने जिम्मेवारी पनि हामी सच्चा नेपालीमाथि थपिएको छ। यो जिम्मेवारी इमानसाथ पूरा गरेर सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प पूरा गर्ने क्षमता भएको दल एमालेलाई बहुमतका साथ संसदमा पुर्याउनु पर्ने दायित्व नेपाली मतदाताहरूको काँधमा आएको छ। त्यसैले “मताधिकारलाई देशको सर्वभौमिकता बचाउने र सम्वृद्ध देश बनाउने आधार बनाऔं!!”