७ जेष्ठ २०८३, बिहिबार 1779385199
Banner

विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुँदै, ३२ राष्ट्रले सहभागिता जनाउने

काठमाडौं – विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुँदैछ। विश्वकपको २२ औँ संस्करणको उद्घाटन खेल आज सुरु हुन लागेको हो।

६० हजार दर्शक क्षमताको अल बायत रङ्गशालामा कतार विश्वकपको भव्य उद्घाटन हुन लागेको हो। उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुँदैछ। उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह, अमेरिकन गायक लिल बेबी लगायतका स्थानीय कलाकारले प्रस्तुति दिनेछन्।

यस पटकको विश्वकपमा सहभागी ३२ देशलाई आठ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई देश अघिल्लो चरणमा प्रेवेश गर्नेछन्। विश्वकपको फाइनल खेल आगामी पुस ३ गते हुनेछ ।

विश्वकपको विजेताले चार करोड २० लाख डलर पुरस्कार पाउनेछ भने उपविजेताले तीन करोड डलर पाउँदा तेस्रो हुनेले दुई करोड ७० लाख र चौंथो हुनेले दुई करोड ५० लाख डलर पाउनेछन्।

विश्वकपका सबै खेल कतारमा बनेका आठ वटा रंगशालामा हुनेछन्। प्रतियोगिता ५ अर्ब मानिसले टेलिभिजनमा हेर्ने अनुमान गरिएको छ।