काठमाडौं : प्रतिनिधिसभामा १२ राजनीतिक दल सहभागी हुन पाउने भएका छन् । प्रतिनिधिसभामा १२ दल संसदमा सहभागी हुने भएपनि ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने देखिएको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।
राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत ‘थ्रेस होल्ड ‘ कटाउनुपर्ने कानुनी व्यवस्था छ । नेकपा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन संघर्ष गरिरहेको छ । समाजवादीले अहिलेसम्म २ लाख ९४ हजार मत प्राप्त गरेपनि ‘थ्रेस होल्ड’ कटाउन हम्मेहम्मे देखिएको छ।