२ मंसिर २०८१, आइतबार 1731875175
Banner

शिर्ष पार्टीहरुले आज समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौं । शिर्ष राजनीतिक दललाई समानुपातिकतर्फ निर्वाचित हुने सांसद छान्न सकस परेको छ । निर्वाचन आयोगले दलहरूले पाएको मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित हुने नामहरू पठाउन पत्राचार गरेसँगै बिहीबारबाट आन्तरिक गृहकार्यमा जुटेका राजनीतिक दलहरुलाई समयमै समानुपातिकबाट निर्वाचित हुनेहरूको नाम आयोगमा पठाउन सकस परेको हो ।

आयोगले बिहीबार पत्र पठाएर शनिबारसम्म नाम पठाउन भनेको छ । तर अधिकांश दलहरूले शनिबारमात्रै बैठक बोलाएर समानुपातिक नाम टुंग्याउने तयारी गरेका छन् । त्यसका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्, रास्वपा, जसपा र राप्रपाले आज बैठक बोलाएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

माओवादी केन्द्रले शुक्रबार बैठक बोलाए पनि सांसदको नाम भने टुंगो लगाउन सकेन । एमालेले शुक्रबार बोलाएको बैठक तयारी नपुगेको भन्दै आज ११ बजे बैठक बोलाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणामअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एनेकपा समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टी लगायतले समानुपातिक सांसद छान्न पाउँछन् । प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० गरी ३३० जना सांसद समानुपातिक निर्वाचन प्रणालीमार्फत छानिन्छन् ।

एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। नेपाली कांग्रेसले एमालेको भन्दा २ सिट कम हुनेगरी मत पाएकाले ३२ जना सांसद छान्दैछ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ जनता समाजवादीले ५ र जनमत पार्टीले ५ जना छान्दैछन् ।