३ मंसिर २०८१, सोमबार 1731925950
Banner

चार्ल्स शोभराज आज रिहा हुँदै

काठमाडौं । विश्व कुख्यात सिरियल किल्लरका रूपमा चिनिएका चार्ल्स शोभराज आज रिहा हुँदै छन् ।

बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा हुन लागेका हुन । हिजो कैद छुट पुर्जि पठाएपछि आज उनी रिहा हुने भएका हुन । शोभराज आज बिहान १० बजे रिहा हुने सम्भावना रहेको शोभराजका अधिवक्ता गोपाल शिवाकोटीले बताउनुभयो ।

बुधबार सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चबाट फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरेर १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश भएको छ ।

यस्तो थियो शोभराजको अपराध यात्रा
६ पुस २०३२ मा भक्तपुरको पलाँसेस्थित अरनिको राजमार्गको दक्षिणतर्फ ढलमा अनुहार डढाएको शव फेला परेको थियो । स्थानीय भरत राना मगरको खबरमा पुगेको प्रहरीले त्यहाँ सबै लुगा फुकालिएको र अनुहार चिन्नै नसक्ने शव बरामद गरेको थियो । त्यतिबेला नखुलेको त्यो शवको पहिचान दुई दिनपछि काठमाडौं को मनहरा घटनाबाट खुलेको थियो ।

भक्तपुरमा शव भेटिएको पर्सिपल्ट ८ पुस २०३२ मा बिहान ७ बजे गस्तीमा निस्किएका प्रहरीले मनहरा खोला किनारमा पेट्रोल हाली आगो लगाएको र मुटुमा छुरा रोपेर हत्या गरी फालिएको अवस्थामा एक युवतीको शव फेला पा¥यो । टाउकोदेखि पैतालासम्म डढेको, पूरै शरीरको भाग नांगो र मुटु लक्षित गरी चारपटक छुरी रोपिएको अवस्थामा फेला परेको शवको पहिचान पनि तत्कालै खुल्न सकेको थिएन ।
सोही समयमा धुलिखेल घुम्न गएका झोँछेको ओरियन्टल लजमा बस्ने दुई विदेशी पर्यटक नफर्किएको जानकारी आयो । प्रहरीले त्यही लजमा बस्दै आएका अष्ट्रेलियन नागरिक क्रिस्टी एम म्याकमिलनलाई मनहरामा शवसँगै भेटिएको झुम्का देखाएर मृतक अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिचको पहिचान गरेको थियो ।

कोन्नी धुलिखेल घुम्न गएको सूचनाका आधारमा अनुसन्धानमा खटिएका प्रहरीले भक्तपुरमा विदेशी पुरुषको शव फेला परेको सूचना पायो । र, मृतक कोन्नीका प्रेमी लरेन्ट भएको खुल्यो । कोन्नी र लरेन्ट २८ मंसिर २०३२ देखि ओरियन्टल लजको कोठा नम्बर ९ मा बस्दै आएका थिए ।

प्रहरी अनुसन्धानमा यी दुवैको सम्पर्क होटल सोल्टी ओबराय (अहिले होटल सोल्टी) मा बस्ने भियतनामी नागरिकसँग रहेको सूचना फेला प¥यो । त्यसकै आधारमा प्रहरीले भियतनामी नभई भारतीय–चिनियाँ अनुहारसँग मिल्दोजुल्दो जोडी हेनरिकस विन्ताजा र कुकी हेमकरलाई फेला पारेका थिए ।

त्यही समयमा यहाँको हत्या प्रकृतिसँग मिल्ने गरी केही अघि थाइल्याण्डको बैंककमा पनि एक विदेशी नागरिक मारिएको सूचना नेपाल प्रहरीले पाएको थियो । नशालु पदार्थ खुवाई पेट्रोलियम पदार्थ हालेर आगो लगाएर गरिएको उक्त हत्याको प्रकृति कोन्नी हत्यासँग मेल खान्थ्यो ।

बैंकको हत्यामा सम्भावित हत्याराका रूपमा एलेन गोटियरको नाम आयो । प्रहरीको अनुसन्धानमा गोटियर र सोल्टी ओबरायमा बसेका हेनरिकस विन्ताजा एकैझैँ देखिएपछि दुवैलाई होटलमै निगरानीमा राखियो । र, अनुमति लिएर मात्र होटलबाट बाहिर निस्कन निर्देशन दिइयो । यसको केही समयमै उनीहरू एकाएक होटलमै सामान छाडेर बेपत्ता भए । पछि कुकीको असली परिचय मोनिक लेक्लर्क र हेनरिकस चाहिँ चाल्र्स शोभराज रहेको खुलेको थियो ।