३ मंसिर २०८१, सोमबार 1731933477
Banner

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै, विहान १० बजे निर्णायक वार्ता गर्ने काँग्रेस माओवादीको तयारी

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको समय आज साँझ ५ः०० बजे सकिँदै छ। राष्ट्रपति भण्डारीले गत आइतबार पुस १० गते साँझ ५ः०० बजेभित्र संसद्मा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गर्नुभएको थियो।

राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएसँगै राजनीतिक दलका नेताहरू निरन्तर छलफलमा भएपनि सरकार गठनका लागि अहिलेसम्म कसैले पनि बहुमत जुटाउन सकिरहेका छैनन् ।

प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेसका सभापति शेर बहादुर देउवाको आ–आफनो अडानका कारण हिजो रातीसम्म गरिएको सहमतिको प्रयास विना निश्कर्ष टुंगिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच आज पनि छलफलको तयारी रहेको नेपाली काँग्रेसका नेता एनपी साउदले बताउनुभयो । पहिलो पार्टी भएको हिसाबले काँग्रेसले आफु प्रधानमन्त्रीको दाबेदार भएको बताउँदै आएको छ । यता माओवादी केन्द्रले गठबन्धनका कारणले काँग्रेसले धेरै सिट जितेकाले आफुले सरकारको नेतृत्व गर्न पाउनुपर्ने प्रचण्डको अडान छ । को प्रधानमन्त्री बन्ने भन्ने वारे दुइ नेताबीच हिजो रातीसम्म सहमति जुटन नसकेपछि आज विहान १० बजे पुन बैठक बसेर सहमति जुटाउने गठबन्धनको तयारी छ ।

नेता साउदका अनुसार आजै दलहरु बीच सहमतिको अन्तिम प्रयास हुने र सवैको सहमतिमा को प्रधानमन्त्री बन्छ भन्ने बिषयमा टुंगो लाग्ने बताउनुभयो ।