३ मंसिर २०८१, सोमबार 1731939232
Banner

प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले दिएको समय सकियो, ओली–प्रचण्डसहितका नेताहरु शीतल निवासमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेसहितका शीर्षनेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। आज बालकोटमा भएको बैठकमा एमाले र माओवादी केन्द्रलगायतका दलहरुबीच सहमति भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गर्न शीर्ष नेताहरु शीतल निवास पुगेका हुन्।

बालकोट बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डको नेतृत्वमा एमाले , माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,जनमत पार्टी र नागरिक उन्‍मुक्ति पार्टीको समर्थनमा सरकार बन्नेमा सहमति जुटेको हो ।

राष्ट्रपतिले तोकेको समयसीमा भित्र पहिलो दल बनेको कांग्रेसले सरकार गठन गर्न नसकेपछि एमालेले अग्रसरता लिएको हो । प्रचण्डलाई १६६ सांसदको समर्थन रहेको छ ।

राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ ।