काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको पनि उहाँले बताउनुभयो ।
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र सुधार गर्ने निर्णय गरेर काम सुरु गरेको बताउनुभयो ।
उहाँले यसका लागि सरकारले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रमिट्यान्सको उचित प्रयोग गर्ने, मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
यसका लागि अर्थमन्त्री, गभर्नरसँग पनि छलफल गरिरहेको उहाँले बताउनुभयो । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै प्रचण्डले त्यसका लागि पनि छलफल भइरहेको बताउनुभयो ।
सकारले निजी क्षेत्रका समस्यालाई पनि सम्बोधन गरी अर्थतन्त्रका समस्या समाधानका लागि समन्वय र सुझबुझ् गर्ने उहाँले बताउनुभयो । ‘‘अर्थतन्त्रको सबलीकरण प्रमुख रुपमा अघि सारिएको छ । सबैको साथ लिएर चुनौती समाधान गर्ने हो,’ उहाँले भन्नुभयो, ‘‘सबैको सहयोग भयो भने सबै समस्या समाधान गर्न सकिन्छ ।’