४ मंसिर २०८१, मंगलबार 1732033137
Banner

विद्यार्थीलाई योग र ध्यानतिर आकर्षित गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भुमिका खेल्ने बताएका छन् । आईतवार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उहाँले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताएका हुन् ।

उनले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउनसके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताए । उनले भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको बताए । प्रधानमन्त्री दाहालले भौतिक रुपले सम्पन्न देशहरुमा धेरै डिप्रेसन र आत्महत्याका घटनाहरु भएको भन्दै मानसिक रुपमा पनि चुस्त राख्न आवश्यक रहेको बताए । मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको बताए । उनले अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘पूर्वीय सभ्यताको आधारशीला योग र ध्यान, आध्यात्मिक चिन्तनलाई मानिन्छ । अहिले पूरै संसार नै योग र ध्यानतिर आकर्षित र केन्द्रित छ । पूर्वीय सभ्यताको पनि नेपालका त्यसको धरोहर हो भन्न पाउँदा हामी सबै नेपालीहरुलाई गर्वको महशुस हुन्छ । हाम्रो इतिहास, संस्कृति, परम्परामा योग र ध्यान सँगै नै अन्तर्निहीत रहेका छन् । हाम्रो सांस्कृतिक धरोहरहरु हे¥यो भने मठ,मन्दिर, गुम्बा सबैमा पनि योग आधारित भएर बनेका थिए । त्यसकारण नेपालमा योग, ध्यान र आध्यात्मिक चिन्तनको परम्परा धेरै पुरानो परम्परा हो । हाम्रो संस्कृति, सम्पदा र पहिचानको आधार हो । संयुक्त राष्ट्रसंघले योग दिवस मनाउने भनेपछि संसारभर नै जिज्ञासा र अभिरुची बढेको छ । भौतिक रुपले धेरै नै विकसित भनेका देशमा पनि मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण थुप्रै डिप्रेशनतिर जाने गरेका छन् । भातिक रुपले सम्पन्न र विकसित देशहरुमा तथ्यांकहरु हेर्दा मानसिक रुपले कमजोर भएको तथ्यांकहरु धेरै छ । आत्महत्यका तथ्यांकहरु त्यहाँ नै बढी छन् । मानव जातीका लागि भौतिक विकासले मात्रै मानव जातिको रक्षा गर्न सक्दैन ।