काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको संघीय संसद सचिवालयले जनाएको छ । माघ ७ गते शनिबार निर्वाचन हुनेछ । हिजो बसेको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए । सचिवालयले बिहीबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
उपसभामुखको निर्वाचनका लागि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यसूचीअनुसार आज ४ बजेर १५ मिनेटमा मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन गरिने छ ।
प्रतिनिधि सभाका सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता आज हुने सचिवालयले जनाएको छ ।
उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रारम्भ हुने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । उपसभामुखका लागि सत्ता साझेदार दलले रास्वपाका सांसद सोविता कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसबारे अझै आधिकारिक निर्णय गरिसकेको छैन । प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।